मध्यपूर्वमा हवाई संकट: विभिन्न राष्ट्रद्वारा एयर स्पेस बन्द, १५ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवाका उडान रद्ध
काठमाडौं । इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेसँगै विभिन्न राष्ट्रले आफ्नो एयर स्पेस बन्द गरेका छन्।
इरानले जवाफी कारबाही स्वरूप इजरायल र वरपरका खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल वर्षा गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इरान, इजरायल, इराक, युएई, कतार र कुवेतले आफ्नो राष्ट्रिय हवाई क्षेत्र नागरिक उडानका लागि पूर्णतः बन्द गर्ने घोषणा गरेका हुन्। यस क्षेत्रको आकाश युद्धग्रस्त बनेपछि अन्तर्राष्ट्रिय उडानहरूमा ठुलो अवरोध सिर्जना भएको छ।
हवाई क्षेत्र असुरक्षित भएपछि विभिन्न १५ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले मध्यपूर्वका लागि हुने आफ्ना सबै उडानहरू तत्कालका लागि रद्द गरेका छन्।
उडान रद्द गर्ने विमानसेवाहरूमा एयर फ्रान्स, एयर इन्डिया, ब्रिटिस एयरवेज, इबेरिया एक्सप्रेस, र इन्डिगो रहेका छन्। त्यस्तै, जापान एयरलाइन्स, लट एयरलाइन्स, लुफ्थान्सा, नर्वेजियन एयर, र टर्किस एयरलाइन्सले पनि आफ्ना सेवाहरू पूर्ण रूपमा बन्द गरेका छन्।
उडान रद्द गर्ने अन्य प्रमुख कम्पनीहरूमा भर्जिन एटलान्टिक, कतार एयरवेज, एयर अल्जेरी, स्क्यान्डेभियन एयरलाइन्स, र विज एयर रहेका छन्। यी एयरलाइन्सहरूले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना नभएसम्मका लागि मध्यपूर्वका गन्तव्यहरूमा उडान नभर्ने निर्णय लिएका हुन्। यसले गर्दा खाडी मुलुकलाई ट्रान्जिट बनाएर यात्रा गर्ने हजारौँ यात्रुहरू विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका छन्।
हवाई मार्ग बन्द हुँदा एसिया र युरोप जोड्ने अन्तर्राष्ट्रिय उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विमानहरूले इरान र इराकको आकाश छल्न लामो र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा उडान समय ३ देखि ५ घण्टासम्म थपिएको छ।
इन्धनको खपत बढ्ने र उडान समय लम्बिँदा टिकटको मूल्यमा समेत वृद्धि हुने देखिएको छ। सम्बन्धित देशका उड्डयन प्राधिकरणहरूले आफ्ना वायुसेवाहरूलाई हालका लागि मध्यपूर्वको आकाश प्रयोग नगर्न कडा चेतावनी दिएका छन्।













