इरानको विद्यालयमा भएको इजरायली आक्रमणमा मारिनेको संख्या ५१ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इरानको विद्यालयमा भएको इजरायली आक्रमणमा मारिनेको संख्या ५१ पुग्यो



काठमाडौं । इरानको होर्मोजगान प्रान्तस्थित एक विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीहरूको संख्या ५१ पुगेको छ।

दक्षिणी इरानको मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयलाई लक्षित गरी शनिबार बिहान यो आक्रमण भएको हो।

कतारको सरकारी समाचार संस्था अलजजिरा र इरानी समाचार एजेन्सी ईर्नाका अनुसार, इजरायली सेनाले उक्त बालिका विद्यालयमा ‘सिधा आक्रमण’ गरेको थियो। यस आक्रमणमा ५१ जनाको मृत्यु हुनुका साथै अन्य ६० जना गम्भीर घाइते भएका छन्।

मिनाब सहरका स्थानीय अधिकारी मोहम्मद रादमेहरका अनुसार आक्रमणको समयमा विद्यालय भवनभित्र १७० जना विद्यार्थीहरू रहेका थिए।

अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको र भग्नावशेष भित्र अझै मानिसहरू पुरिएको हुन सक्ने आशंका गरिएको छ। अधिकारीहरूले हताहती हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्। इरान र इजरायलबीच सुरु भएको यो युद्धले अब निर्दोष बालबालिकाहरूलाई समेत निशाना बनाउन थालेपछि अन्तर्राष्ट्रिय समुदायमा ठुलो चिन्ता व्यक्त गरिएको छ।

यसैबीच, इरानले आफ्ना विद्यालय र नागरिक क्षेत्रमा भएको यो आक्रमणको कडा बदला लिने चेतावनी दिएको छ। अर्कोतर्फ, यो घटनापछि खाडी क्षेत्रको सुरक्षा स्थिति थप नाजुक बनेको छ र विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई सुरक्षित रहन अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्