आयतोल्लाह अली खामेनी मारिएको ट्रम्पको दाबी, इरान भन्छ- खामेनी सुरक्षित र स्वस्थ छन् - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आयतोल्लाह अली खामेनी मारिएको ट्रम्पको दाबी, इरान भन्छ- खामेनी सुरक्षित र स्वस्थ छन्



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको सनसनीपूर्ण दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इजरायलले तेहरानमा गरेको संयुक्त आक्रमणमा खामेनीको मृत्यु भएको बताएका हुन्। ट्रम्पले यस घटनालाई इरानी जनता, अमेरिकी नागरिक र विश्वकै लागि ‘न्याय’ भएको टिप्पणी समेत गरेका छन्।

इजरायल र अमेरिकाको संयुक्त सैन्य कारबाहीमा खामेनीको निवास पूर्ण रूपमा तहसनहस भएको दाबी गरिएको छ। सार्वजनिक भएका केही स्याटेलाइट तस्बिरहरूमा पनि उक्त निवासमा ठूलो क्षति पुगेको देखिएको छ।

ट्रम्पका साथै फक्स न्युज, रोयटर्स र इजरायली सञ्चारमाध्यमहरूले पनि इजरायली वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै ८६ वर्षीय खामेनीको मृत्यु भएको दाबीका साथ समाचारहरू सम्प्रेषण गरेका छन्।

यद्यपि, इरानले भने आफ्ना सर्वोच्च नेता सुरक्षित र स्वस्थ रहेको भन्दै यी दाबीहरूको कडा खण्डन गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले एनबीसी न्यूजसँग कुरा गर्दै खामेनी जीवितै रहेको र सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको स्पष्ट पारेका छन्। “जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो र स्वस्थ हुनुहुन्छ,” अराघचीले भनेका छन्।

अहिले विश्वभरको ध्यान इरानतर्फ मोडिएको छ। एकातिर अमेरिकी राष्ट्रपति र इजरायली सञ्चारमाध्यमहरूले खामेनीको अन्त्य भएको दाबी गरिरहेका छन् भने अर्कोतर्फ इरानी अधिकारीहरूले उनी जीवितै रहेको पुष्टि गर्ने प्रयास गरिरहेका छन्। यो विरोधाभासपूर्ण अवस्थाले मध्यपूर्वको राजनीति र सुरक्षा अवस्थालाई थप तनावपूर्ण बनाएको छ।


प्रतिक्रिया दिनुहोस्