मध्यपूर्वमा बढ्दो तनाव : खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित
काठमाडौं । इजरायल, अमेरिका र इरानबीच बढ्दै गएको सैन्य तनावका कारण नेपाल सरकारले खाडी मुलुक जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो युद्धकालीन परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण सरकारले यस्तो निर्णय लिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जाने सम्पूर्ण श्रम स्वीकृति प्रक्रिया स्थगित गरिएको जानकारी दिएका छन् ।
इजरायल र अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि त्यसको जवाफमा इरानले युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान र कुवेत लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूलाई निशाना बनाउन थालेको छ । हालै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ड्रोन आक्रमण भएपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा थप जोखिम देखिएको छ ।
विमानस्थलबाटै फर्किन आग्रह सरकारले वैदेशिक रोजगारीका लागि सबै प्रक्रिया पूरा गरी विमानस्थल पुगिसकेका श्रमिकहरूलाई समेत तत्कालका लागि घर फर्किन अनुरोध गरेको छ । मन्त्री भण्डारीका अनुसार परिस्थिति झन् बिग्रिएमा त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सरकारले उद्धार योजना समेत बनाइरहेको छ ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले पनि युद्ध प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराएको छ ।
चौबिसै घण्टा कल सेन्टर खुला नेपाली श्रमिकहरूको समस्या सुन्न र आवश्यक जानकारी प्रदान गर्न श्रम मन्त्रालयले आफ्नो कल सेन्टरलाई २४सै घण्टा सक्रिय बनाएको छ । परिस्थिति कस्तो मोडमा जान्छ, त्यसैका आधारमा थप कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ ।













