विश्वव्यापी ऊर्जा सङ्कटको भय: ड्रोन आक्रमणपछि कतार इनर्जीद्वारा ग्यास उत्पादन बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्वव्यापी ऊर्जा सङ्कटको भय: ड्रोन आक्रमणपछि कतार इनर्जीद्वारा ग्यास उत्पादन बन्द



काठमाडौँ । मध्यपूर्वमा फैलिएको युद्धको प्रत्यक्ष असर अब विश्वको भान्सा र उद्योगसम्म पुग्ने देखिएको छ। कतारको सरकारी ऊर्जा कम्पनी ‘कतार इनर्जी’ ले सोमबार आफ्नो तरल प्राकृतिक ग्यास (एलएनजी)को उत्पादन पूर्ण रूपमा बन्द गरेको छ।

आधिकारिक विज्ञप्ति अनुसार, इरानले कतारको रास लाफानस्थित प्रमुख ऊर्जा केन्द्रमा ड्रोनमार्फत भीषण आक्रमण गरेपछि यो कठोर निर्णय लिइएको हो।

एलएनजी भनेको हामीले खाना पकाउन प्रयोग गर्ने एलपीजी ग्यास होइन । यो मुख्यतया मिथेन ग्यास हो। यसलाई प्राकृतिक रूपमा जमिनमुनिबाट निकालिन्छ र धेरै टाढा निर्यात गर्न सजिलो होस् भनेर अत्यधिक चिसो बनाएर तरल अवस्थामा राखिन्छ। यो ग्यास मुख्यतया ठूला उद्योगहरू, बिजुली निकाल्ने पावर प्लान्टहरू र ठूला जहाजहरूमा इन्धनको रूपमा प्रयोग हुन्छ।

घरमा खाना पकाउन र साना गाडी तथा हिटरहरूमा प्रयोग गर्ने सिलिन्डरको ग्यास चाहीँ ‘तरल पेट्रोलियम ग्यास (एलपीजी’ हो। यो कच्चा तेल (पेट्रोलियम) प्रशोधन गर्दा निस्कने सह–उत्पादन हो। यसमा मुख्यतया प्रोपेन र ब्युटेन हुन्छ।

रणनीतिक केन्द्रहरूमा इरानी ड्रोनको निशाना

कतारको रक्षा मन्त्रालयका अनुसार सोमबार इरानी ड्रोनहरूले राजधानी दोहाको दक्षिणमा पर्ने मेसाईदस्थित विद्युत केन्द्र र रास लाफानको ग्यास प्रशोधन केन्द्रलाई निशाना बनाएका थिए।

यी दुवै स्थान कतारको अर्थतन्त्र र विश्वव्यापी आपूर्ति शृङ्खलाका लागि मेरुदण्ड मानिन्छन्। आक्रमणबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न र थप सुरक्षा खतराको मूल्याङ्कन गर्न अहिले विस्तृत अनुसन्धान भइरहेको छ।

कतार इनर्जीले आफ्ना कर्मचारीको सुरक्षा र थप प्राविधिक दुर्घटना हुन नदिन तत्कालका लागि उत्पादन रोक्नुपरेको स्पष्ट पारेको छ।

विश्व बजारमा पर्न सक्ने गम्भीर प्रभाव

कतार विश्वकै ठूलो एलएनजी निर्यातकर्तामध्ये एक हो। अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्याङ्क अनुसार विश्वभर निर्यात हुने कुल एलएनजीको करिब २० प्रतिशत हिस्सा एक्लै कतारले ओगटेको छ।

यस्तो अवस्थामा उत्पादन बन्द हुनुले युरोप र एसियाली मुलुकहरूमा ग्यासको अभाव हुने र मूल्यमा भारी वृद्धि हुने निश्चित देखिएको छ। सुरक्षित मानिएको कतारी भूमिमा भएको यो आक्रमणले विश्वव्यापी ऊर्जा सुरक्षामा नयाँ चुनौती थपिदिएको छ।


प्रतिक्रिया दिनुहोस्