शनिबारदेखि सुरु भएको द्वन्द्वमा ७४२ इरानी सर्वसाधारणको मृत्यु, ९०० भन्दा बढी घाइते
काठमाडाैं । अमेरीका इजरायल र इरानबीचको द्वन्द्वमा हालसम्म ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
अमेरिकास्थित मानव अधिकारवादी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ का अनुसार इरानमा गत शनिबारदेखि सुरु भएको द्वन्द्वमा ७०० भन्दा बढी सर्वसाधारण इरानीकाे ज्यान गएकाे हाे ।
पछिल्लो तथ्याङ्कअनुसार कम्तीमा ७४२ सर्वसाधारण मारिएका छन्, जसमा १७६ जना बालबालिका रहेका छन्। रिपोर्टका अनुसार ९०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ। थप सयौँको मृत्युबारे प्रमाणीकरण गर्ने कार्य भइरहेको संस्थाले जनाएको छ।
मानवीय क्षति तीव्र रूपमा बढ्नेक्रम जारी छ। पछिल्लो २४ घण्टामा आवासीय भवन र धार्मिक स्थलहरूमा ठूलो क्षति पुगेको छ। तेहरान नजिकैको कारजमा रहेको एउटा मस्जिद, राजधानीको दक्षिणी क्षेत्रमा रहेको गभर्नर कार्यालय र हर्मुजको जलडमरूमध्यमा रहेको सहिद बाहोनर पियरमा क्षति पुगेको छ। इरान सरकारले तेहरानका अस्पतालहरूमा समेत क्षति पुगेको दाबी गरेको छ।
युद्धका क्रममा सैन्य निशानाहरूमा पनि आक्रमण भएको छ। पश्चिमी सहर सनन्दजमा रहेको कुर्दिस्तान कानून कार्यान्वयन कमान्ड र सीमा सुरक्षा कमान्ड सेन्टरको मुख्यालयमा क्षति पुगेको रिपोर्टमा उल्लेख छ। साथै, इस्फाहानको एउटा एयर बेस र तेहरानमा रहेको सेनाको आधार शिविरमा पनि क्षति पुगेको छ।













