मतदाता परिचयपत्र नभए पनि यी ५ कागजातले दिन पाइन्छ भोट - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मतदाता परिचयपत्र नभए पनि यी ५ कागजातले दिन पाइन्छ भोट



काठमाडौं । मुलुकभर प्रतिनिधिसभा सदस्यका लागि हुने मतदानको घडी नजिकिँदै गएको छ। निर्वाचन आउन अब दुई दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले देशभरका मतदान केन्द्रहरूमा आवश्यक सुरक्षा र व्यवस्थापकीय तयारीलाई अन्तिम रूप दिएको छ।

आगामी बिहीबार (फागुन २१ गते) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभरका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, निर्वाचनमा सहभागी हुन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

मतदाता नामावलीमा नाम भएका नागरिकले आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र नभए पनि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन्।

मतदानलाई व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। यद्यपि, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र आफैँ मतदान गर्न कठिनाइ हुनेहरूका लागि भने लाइनमा बस्न नपर्ने गरी विशेष सहजता प्रदान गरिनेछ। यस्ता मतदाताहरूलाई मतदान अधिकृत र खटिएका स्वयंसेवकले आवश्यक सहयोग गर्ने गरी विशेष निर्देशन दिइएको छ।

निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु भइसकेकाले आयोगले सबै मतदातालाई आफ्नो मतदान केन्द्र सुनिश्चित गर्न र निर्धारित समयमै उपस्थित भएर शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ। आगामी दुई दिनभित्र सबै मतदान केन्द्रहरूमा मतपत्र र मतपेटिका पुर्‍याउने कार्य सम्पन्न हुने आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्