फेब्रुअरीमा १ लाख ५ हजार विदेशी पर्यटक नेपाल भित्रिए: कुन देशबाट कति आए? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

फेब्रुअरीमा १ लाख ५ हजार विदेशी पर्यटक नेपाल भित्रिए: कुन देशबाट कति आए?



काठमाडौं । सन् २०२६ को फेब्रुअरी महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कुल १ लाख ५ हजार ४४१ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ को फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो।

पर्यटन बोर्डका अनुसार कोभिड-१९ महामारीपूर्वको वर्ष सन् २०१९ को फेब्रुअरीसँग तुलना गर्दा पर्यटक आगमनमा १०२.९ प्रतिशतको ‘रिकभरी’ देखिएको छ। सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४२३ पर्यटक नेपाल आएका थिए। यसले नेपालको पर्यटन बजार महामारीको प्रभावबाट पूर्ण रूपमा मुक्त भई वृद्धि तर्फ लागेको सङ्केत गर्दछ।

फेब्रुअरी महिनामा पनि पर्यटक आगमनमा छिमेकी मुलुक भारत नै शीर्ष स्थानमा रहेको छ। भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्। त्यसपछि चीनबाट १० हजार ८१६, संयुक्त राज्य अमेरिकाबाट ९ हजार ७१०, श्रीलङ्काबाट ७ हजार ५१५ र म्यानमारबाट ६ हजार ३५ पर्यटक नेपाल भित्रिएका छन्। उत्कृष्ट १० स्रोत बजारको सूचीमा बेलायत (५,६१८), अष्ट्रेलिया (४,१२६), थाइल्याण्ड (३,६३८), बंगलादेश (३,२१२) र जर्मनी (२,८५०) रहेका छन्।

क्षेत्रगत आधारमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकहरूको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। यस क्षेत्रबाट ३५ हजार ३४८ (३३.५ प्रतिशत) पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत) र अमेरिकाबाट ११ हजार ८१५ (११.२ प्रतिशत) पर्यटक नेपाल आएको तथ्याङ्क छ। ओसियानियाबाट १ हजार ६८०, मध्यपूर्वबाट ९४९ र अफ्रिकाबाट ३४४ जना पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन बोर्डका अनुसार पछिल्ला महिनाहरूमा देखिएको यो निरन्तरको सुधारले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पुनः स्थापित गरेको छ। विशेषगरी एसियाली र युरोपेली बजारमा गरिएको प्रवर्द्धनात्मक कार्यक्रमले आगमन वृद्धिलाई थप बल पुर्‍याएको बोर्डको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस्