ललितपुरमा प्रहरीमाथि लात्ता र मुक्का प्रहार, चाँगाथलीमा हवाई फायर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ललितपुरमा प्रहरीमाथि लात्ता र मुक्का प्रहार, चाँगाथलीमा हवाई फायर



काठमाडाैं । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) माथि ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। आक्रमणबाट घाइते प्रहरीको किष्ट अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न बुद्ध तामाङसहित ४ जनालाई ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

त्यस्तै, शनिबार राति झम्सीखेलस्थित ‘द ग्रोभ रेष्टुरेन्ट’ बाहिर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दा प्रहरी प्रभाग सानेपाको टोलीमाथि कुटपिट भएको छ। मादक पदार्थ सेवन गरी प्रहरीलाई लात्ता, मुक्का र लाठी प्रहार गर्ने समूहका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते प्रहरीको अल्का अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस्