भोलि निर्वाचनकाे दिन हवाई गस्ती गर्ने सरकारकाे निर्णय
काठमाडौँ । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सरकारले हवाई गस्ती गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मतदानको दिन सुरक्षा व्यवस्थालाई थप कडा बनाउन हवाई गस्ती र हेलिकप्टरहरूलाई ‘स्ट्याण्डबाई’ (तयारी अवस्था) मा राख्ने निर्णय गरेको हो।
मन्त्रालयकी सह-प्रवक्ता रमा आचार्यका अनुसार सुरक्षा समितिको बैठकले निर्वाचनमा सुरक्षाको कुनै कसर बाँकी नराख्ने गरी विशेष रणनीति तय गरेको छ। बैठकमा विद्यमान सुरक्षा चुनौती, निर्वाचनको अन्तिम तयारी र शान्ति सुरक्षाका विषयमा विस्तृत छलफल भएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा सचिव केदारनाथ शर्मा, चारै सुरक्षा निकायका प्रमुखहरू र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।













