ताप्लेजुङदेखि दार्चुलासम्म हवाई गस्ती र ढुवानीः दुर्गमका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका उठाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ताप्लेजुङदेखि दार्चुलासम्म हवाई गस्ती र ढुवानीः दुर्गमका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका उठाइने



काठमाडाैं । निर्वाचन आयोगले विकट र दुर्गम क्षेत्रका मतपेटिका सुरक्षित ढुवानी तथा संकलनका लागि विशेष हवाई कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।

भौगोलिक रूपमा कठिन मानिएका हिमाली तथा पहाडी भेगमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन तथा मतदानपछि मतपेटिकालाई मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टर प्रयोग गर्ने व्यवस्था मिलाएको हो।

यस योजनाअन्तर्गत हुम्ला र डोल्पाका अति दुर्गम २७ वटा मतदान केन्द्रमा मतदान हुनुअगावै हेलिकप्टरमार्फत मतपत्र र जनशक्ति पुर्‍याइसकिएको छ। जसमा डोल्पाका २३ र हुम्लाका ४ वटा केन्द्रहरू रहेका छन्। मतदान सम्पन्न भएपछि पनि ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने आयोगका सचिव कृष्णबहादुर राउतले बताए।

हवाई मार्गबाट उठाइने ती ६१ स्थानबाहेक सडक सञ्जालले जोडिएका सुगम क्षेत्रमा भने सवारी साधनमार्फत नै मतपेटिका ढुवानी गरिनेछ। यस प्रक्रियालाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक बजेट निकासा गरिसकेको उनले जानकारी दिए।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा मतपेटिकाहरूलाई १६५ वटै निर्वाचन क्षेत्रका मतगणना स्थलसम्म ल्याइने तयारी छ। ढुवानी कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले छुट्टै कार्ययोजना समेत तयार पारेको सचिव राउतले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्