सर्लाही–४ मा मतदानका क्रममा झडप र हुलदङ्गा
सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु हुनेबित्तिकै तनाव उत्पन्न भएको छ। बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा आज बिहान विवाद भएको हो।
मतदान सुरु भएको केही समयमै केन्द्रमा जम्मा भएका मतदाताहरूबीच सामान्य विषयलाई लिएर भनाभन सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि मतदाताहरूबीच हुलदङ्गा र झडप भएको प्रहरीले जनाएको छ। झडपका कारण स्थिति केही समय तनावग्रस्त बनेको थियो भने मतदान कार्य समेत पूर्ण रूपमा अवरुद्ध भएको थियो।
घटनालगत्तै खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि अहिले सो केन्द्रमा मतदान प्रक्रिया पुनः सुचारु भएको छ। सुरक्षा व्यवस्था कडा पारिएको र अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।













