निजी क्षेत्रको सहभागिता र समृद्ध अर्थतन्त्रका लागि महासंघका अध्यक्ष चन्द्र ढकालको मतदान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदानपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले मतदानलाई अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारीका रूपमा उल्लेख गरेका छन्।
उनले निर्वाचनपछि मुलुकले यस्तो सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति र लगानीमैत्री वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई साथमा लिएर समृद्ध अर्थतन्त्रको जग बसाल्न सकोस् भन्ने अपेक्षा व्यक्त गरे।
“मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक हो,” ढकालले भनेका छन्, “निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास हासिल हुन सक्छ।”
अध्यक्ष ढकालले निर्वाचनपछि बन्ने नयाँ सरकारले निजी क्षेत्रको महत्वलाई आत्मसात् गर्दै सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरेका छन्। यो अपेक्षा केवल निजी क्षेत्रको मात्र नभई सम्पूर्ण नेपालीको साझा चाहना भएको उनको भनाइ छ।













