दाङका यी दुई मतदान केन्द्रमा अझै सुरु हुन सकेन मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दाङका यी दुई मतदान केन्द्रमा अझै सुरु हुन सकेन मतदान



दाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत दाङका दुई मतदान केन्द्रमा ४ घण्टा बितिसक्दा पनि मतदान सुरु हुन सकेको छैन।

बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७ स्थित देउती माध्यमिक विद्यालय मलैखोला मतदान केन्द्रमा स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका हुन्।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने यी स्थानीयले लामो समयदेखि ‘बस्ती स्थानान्तरण’ को माग राख्दै आएका छन्। आफ्नो माग पूरा नभएको भन्दै उनीहरूले यसपटकको निर्वाचनमा मतदान नगर्ने अडान लिएका हुन्।

जनता आधारभूत विद्यालय जिलाका मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार यस केन्द्रमा ६८२ जना मतदाता रहेका छन्। मतदानका लागि कर्मचारी र सामग्री तयारी अवस्थामा भए पनि हालसम्म एक जना मतदाता पनि केन्द्रमा पुगेका छैनन्।

त्यस्तै, देउती मावि मलैखोला केन्द्रका मतदान अधिकृत टेकबहादुर केसीले पनि आफ्नो केन्द्रमा अहिलेसम्म मतदान हुन नसकेको पुष्टि गरे। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आन्दोलनरत निकुञ्ज पीडितहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन प्रयास भइरहेको बताएका छन्। यद्यपि, स्थानीयले भने आफ्नो माग सम्बोधन नभएसम्म मतदान नगर्ने अडान कायमै राखेका छन्।


प्रतिक्रिया दिनुहोस्