दार्चुलाका दुई मतदान केन्द्रमा अहिलेसम्म खसेन एउटै मत
काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत दार्चुलाका दुई मतदान केन्द्रमा हालसम्म एक जना मतदाता पनि मतदानका लागि पुगेका छैनन्। नौगाड गाउँपालिका र अपि हिमाल गाउँपालिकाका दुई केन्द्रमा स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गरेका हुन्।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अपि हिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय र नौगाडको गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म एउटै मत खसेको छैन। दुधिला आधारभूत विद्यालयमा ६०२ र गौरीशंकर मावि नागुमा २४६ जना मतदाता रहेका छन्।
२०७४ सालमा गरिएको वडा विभाजनप्रति असन्तुष्टि जनाउँदै स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका थिए। निर्वाचनअघि उनीहरूलाई प्रक्रियामा सहभागी गराउन पटक-पटक आग्रह गरिए पनि स्थानीयले आफ्नो माग सम्बोधन नभएको भन्दै मतदान नगर्ने अडान कायम राखेका छन्। मुख्य निर्वाचन अधिकृत गिरीले स्थानीयसँग समन्वयको प्रयास भइरहेको जानकारी दिएका छन्।













