सर्लाही–४ मा विवादपछि राेकिएकाे मतदान पुनः सुरु भयो
सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा केही समय अवरुद्ध भएको मतदान कार्य पुनः सुचारु भएको छ।
बलरा नगरपालिका–जब्दीस्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा एजेन्टहरूबीच विवाद भएपछि करिब एक घण्टा मतदान स्थगित भएको थियो।
एक वृद्ध मतदातालाई आफन्तबाहेक अन्य व्यक्तिले मतदान गर्न सघाउन खोजेपछि विभिन्न दलका पोलिङ एजेन्टहरूबीच विवाद उत्पन्न भएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको मध्यस्थतापछि विवाद समाधान भई मतदान पुनः सुरु गरिएको हो।
सर्लाही–४ यसपटक देशभरिकै ‘हट सिट’ मध्ये एक हो। यहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
कांग्रेसको गढ मानिने यो क्षेत्रमा सभापति थापा आफैँ चुनावी मैदानमा उत्रिएका छन् भने पूर्व कांग्रेसी नेता सिंह रास्वपाको घण्टी चुनाव चिन्ह लिएर उनलाई चुनौती दिइरहेका छन्।













