१२ बजेसम्म देशभर साढे ३१ लाख बढी मत खस्याे, कुन प्रदेशमा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१२ बजेसम्म देशभर साढे ३१ लाख बढी मत खस्याे, कुन प्रदेशमा कति ?



काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा मध्याह्न १२ बजेसम्म देशभर करिब १८ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३१ लाख ६३ हजार ७३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया देशभरका सबै जिल्लाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ।

कुन प्रदेशमा कति मत खस्याे ?

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर): उपत्यकाका ३ जिल्लाका १५ निर्वाचन क्षेत्रमा मतदानको उत्साह सबैभन्दा बढी देखिएको छ। यहाँका ५२७ मतदान स्थलहरूबाट कुल ११ लाख ८५ हजार ३७४ मतदातामध्ये ३ लाख २ हजार ८२१ (२५.५५%) मत खसेको छ।

कोशी प्रदेश: कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा हालसम्म १५.६० प्रतिशत मतदान भएको छ। यहाँका १ हजार ९०७ मतदान स्थलहरूमा ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन्, जसमध्ये ५ लाख ५७ हजार ७४० जनाले मतदान गरेका छन्।

मधेश प्रदेश: मधेश प्रदेशमा भने अन्य प्रदेशको तुलनामा मतदानको गति केही सुस्त देखिएको छ। ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा हालसम्म १०.४६ प्रतिशत मात्र मत खसेको छ। यहाँका २ हजार १६० मतदान स्थलमा ३६ लाख ३६ हजार ४१४ मतदातामध्ये ३ लाख ८० हजार ५३३ जनाले मतदान गरेका छन्।

बागमती प्रदेश (उपत्यका बाहेक): बागमती प्रदेशका १० जिल्लाका १८ निर्वाचन क्षेत्रमा १७.२१ प्रतिशत मतदान भएको छ। १ हजार २८८ मतदान स्थलमा रहेका २४ लाख ९६ हजार ९३६ मतदातामध्ये ४ लाख २९ हजार ८३५ जनाले आफ्नो मत खसालेका छन्।

गण्डकी प्रदेश: गण्डकी प्रदेशमा मतदानको उत्साहजनक सहभागिता देखिएको छ। ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा २२.५० प्रतिशत मतदान भइसकेको छ। १ हजार २९७ मतदान स्थलहरूमा १८ लाख ७०० मतदातामध्ये ४ लाख ५ हजार ७६५ जनाले मतदान गरेका छन्।

लुम्बिनी प्रदेश: लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा हालसम्म १६.०६ प्रतिशत मतदान भएको छ। यहाँका १ हजार ६७१ मतदान स्थलमा ३३ लाख ८६ हजार ६८० मतदाता रहेका छन्, जसमध्ये ५ लाख ४४ हजार ६८ जनाले मतदान गरिसकेका छन्।

कर्णाली प्रदेश: कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा २०.२३ प्रतिशत मतदान सम्पन्न भएको छ। ९४१ मतदान स्थलहरूमा १० लाख ३७ हजार २५० मतदातामध्ये २ लाख ९ हजार ८४७ जनाले मताधिकार प्रयोग गरेका छन्।

सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा हालसम्म २०.०७ प्रतिशत मत खसेको छ। १ हजार १७६ मतदान स्थलहरूमा १७ लाख १६ हजार ६६० मतदातामध्ये ३ लाख ४४ हजार ४७९ जनाले मतदान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्