दिउँसो १ बजेसम्म देशभर २४ प्रतिशत मतदान: उपत्यकामा उत्साहजनक सहभागिता, मधेशमा केही सुस्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दिउँसो १ बजेसम्म देशभर २४ प्रतिशत मतदान: उपत्यकामा उत्साहजनक सहभागिता, मधेशमा केही सुस्त



काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा दिउँसो १:०० बजेसम्म देशभर २४ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदानमा हालसम्म ४४ लाख ५५ हजार ७९० मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

उपत्यकामा ३६ प्रतिशत मतदान

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा मतदानको उत्साह सबैभन्दा बढी देखिएको छ। १ बजेसम्म उपत्यकामा ३६ प्रतिशत मत खसेको छ। जिल्लागत रूपमा काठमाडौंमा ४१ प्रतिशत, ललितपुरमा ३१ प्रतिशत र भक्तपुरमा २४ प्रतिशत मतदान भएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा रहेका ११ लाख ८५ हजारभन्दा बढी मतदातामध्ये ४ लाख २२ हजार ६३८ जनाले मत खसालेका छन्।

प्रदेशगत विवरण: बागमती र मधेशमा कम उत्साह

प्रदेशगत तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा उत्साहजनक सहभागिता देखिएको छ, जहाँ ३१ प्रतिशत मत खसेको छ। यस्तै, लुम्बिनीमा २६ प्रतिशत, सुदूरपश्चिममा २५ प्रतिशत र कोशी प्रदेशमा २३ प्रतिशत मतदान सम्पन्न भएको छ। गण्डकी प्रदेशमा २१ प्रतिशत मत खस्दा मधेश प्रदेशमा २० प्रतिशत र बागमती प्रदेश (उपत्यका बाहेक) मा सबैभन्दा कम १९ प्रतिशत मात्र मतदान भएको छ।

आयोगका अनुसार केही छिटपुट विवाद र सामान्य तनावका घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। मतदान कार्य आज अपराह्न ५:०० बजेसम्म जारी रहनेछ।


प्रतिक्रिया दिनुहोस्