दोलखा अपडेट: लुटिएका ५४ मध्ये ४५ मतपत्र फेला, अझै सुरू भएन मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दोलखा अपडेट: लुटिएका ५४ मध्ये ४५ मतपत्र फेला, अझै सुरू भएन मतदान



दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोलेश्वर माध्यमिक विद्यालय मतदानस्थलबाट लुटिएका मतपत्रहरूमध्ये अधिकांश फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाका अनुसार लुटिएका कुल ५४ मतपत्रमध्ये ४५ वटा फेला परेका हुन्।

बेपत्ता रहेका बाँकी ९ वटा मतपत्रको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। मतपत्र नै लुटिएपछि सो केन्द्रमा मतदान प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ। मतदान कार्य सुरु गर्ने प्रयास भइरहे पनि अझैसम्म मतदान सुरु हुन सकेको छैन।

यसअघि सोही मतदानस्थलमा उत्तेजित समूहले निर्वाचनमा खटिएका कर्मचारीमाथि समेत हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको थियो। गोलेश्वर मावि मतदानस्थल तनावपूर्ण रहे पनि दोलखाका अन्य मतदानस्थलमा भने मतदान कार्य सुचारु रहेको छ। निर्वाचन आयोगका अनुसार आज दिउँसो ३:०० बजेसम्म दोलखामा ४१.८९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्