मतदान अपडेटः ४ बजेसम्म देशभरबाट ८८ लाख मत खस्याे
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा अपराह्न ४:०० बजेसम्म देशभर ८८ लाख मत खसेको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा रहेका १० हजार ९६७ मतदान स्थलहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार सो संख्यामा मतदान भएको हो।
बिहान ७:०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेका अनुसार दोलखाका केही मतदानस्थलमा देखिएको तनाव बाहेक देशभर मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भइरहेको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन देशभर करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
केही स्थानमा छिटपुट विवाद र प्राविधिक अवरोध देखिए तापनि सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको सक्रियतामा मतदान सुचारु राखिएको छ। निर्वाचन आयोगले मतदानको समय साँझ ५:०० बजेसम्म तोकेकाले अझै केही प्रतिशत मत थपिने अपेक्षा गरिएको छ।













