चुनावी ‘इपिसेन्टर’ झापा-५ मा ६५ प्रतिशत मत खस्यो, मतगणनाको समय तोक्न आजै सर्वदलीय बैठक
झापा । यस निर्वाचनको सबैभन्दा बढी चर्चामा रहेको ‘चुनावी इपिसेन्टर’ झापा क्षेत्र नम्बर ५ मा ६५ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको आधिकारिक जानकारी अनुसार यस क्षेत्रमा मतदान उत्साहजनक रूपमा सम्पन्न भएको हो।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका थिए। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’बीचको कडा प्रतिस्पर्धाका कारण यो क्षेत्रलाई देशभर निकै चासोका साथ हेरिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
निर्वाचन अधिकृत कार्कीका अनुसार मतदान कार्य सम्पन्न भएसँगै अब मतगणनाको प्रक्रिया अगाडि बढाइनेछ। यसअघि आजै रातिसम्ममा सर्वदलीय बैठक बस्ने तयारी भइरहेकाे छ भने उक्त बैठकले निर्णय गरेपछि मात्रै मतगणना कहिलेदेखि सुरु गर्ने भन्ने समयको टुंगो लाग्नेछ।
अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलतर्फ ल्याउने कार्य भइरहेको छ।













