निर्वाचन आयोगले भन्यो- देशभर ६० प्रतिशत मतदान सम्पन्न भयाे
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर ६० प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै मतदान उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त रिपोर्टका आधारमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिए ।
निर्वाचन आयोगले मतदानका लागि बिहान ७:०० देखि साँझ ५:०० बजेसम्मको समय निर्धारण गरेको थियो। तर, साँझ ५:०० बजेसम्म मतदान स्थलमा प्रवेश गरिसकेका मतदाताहरूलाई भने मतदानको अधिकार सुनिश्चित गरिएको आयोगले प्रस्ट पारेको छ।
केही छिटपुट घटना र विवादका बाबजुद समग्रमा निर्वाचन सफल भएको आयोगको ठहर छ।
अब सबै मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी मतगणनाको प्रक्रिया अगाडि बढाइएकाे कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।













