उपत्यकामा ‘घण्टी’को दबदबा: १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता, भक्तपुरमा नेमकिपाको गढ धरापमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यकामा ‘घण्टी’को दबदबा: १५ मध्ये १४ क्षेत्रमा रास्वपाको अग्रता, भक्तपुरमा नेमकिपाको गढ धरापमा



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार सुरुवात गरेको छ।

उपत्यकाका कुल १५ निर्वाचन क्षेत्रमध्ये १४ वटामा रास्वपाका उम्मेदवारहरूले फराकिलो अग्रता बनाएका छन्।

काठमाडौंका १० वटै क्षेत्र, ललितपुरका दुई र भक्तपुरका दुई क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धीभन्दा अगाडि देखिएका हुन्।

काठमाडौंमा क्लीन स्वीपको संकेत

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्। क्षेत्र नम्बर १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम र ५ मा सस्मित पोखरेल अगाडि छन्। त्यसैगरी क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त महर्जन, ९ मा डीपी अर्याल र १० मा प्रदीप विष्टले आफ्नो अग्रता कायम राखेका छन्।

भक्तपुर र ललितपुरको अवस्था

नेमकिपाको बलियो गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले अग्रता लिएर सबैलाई अचम्मित पारेका छन्। उनलाई नेमकिपाका प्रेम सुवालले पछ्याइरहेका छन्। यता भक्तपुर–२ मा राजिव खत्रीले एमालेका महेश बस्नेतलाई पछि पार्दै अग्रता लिएका छन्।

ललितपुरमा डा. तोसिमा कार्की (क्षेत्र ३) र जगदिश खरेल (क्षेत्र २) ले अग्रता लिइरहँदा ललितपुर–१ मा भने नेपाली कांग्रेसका उदय शम्सेर राणाले रास्वपाको लहरलाई रोक्दै अग्रता जोगाउन सफल भएका छन्। उपत्यकाका १५ क्षेत्रमध्ये राणा नै हालसम्म अग्रता लिने रास्वपा बाहेकका एक मात्र उम्मेदवार हुन्।


प्रतिक्रिया दिनुहोस्