एमालेको गढमा ‘बालेन क्रेज’: अध्यक्ष ओलीभन्दा झन्डै चार गुणा बढी मतले बालेन अगाडि
झापा । देशकै ध्यान केन्द्रित भएको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना परिणामले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले भारी अन्तरले अगाडि देखिएका छन्।
एमालेको बलियो किल्ला मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार साहले सुरुवाती चरणदेखि नै आफ्नो पकड बलियो बनाउँदै लैजाँदा चुनावी नतिजाले नयाँ मोड लिने संकेत देखिएको छ।
पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बालेन साहले १ हजार ४ सय ७८ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले केवल ३ सय ८४ मत मात्र प्राप्त गरेका छन्।
यो मतान्तरले गणनास्थलमा रहेका प्रतिनिधि र देशभरका शुभचिन्तकहरूमा ठूलो कौतूहल पैदा गरेको छ। ओलीको तुलनामा साहको मत झन्डै चार गुणाले बढी देखिएपछि यस क्षेत्रमा नयाँ राजनीतिक लहरको अनुमान गर्न थालिएको छ।
प्रतिस्पर्धाको यो दौडमा अन्य दलका उम्मेदवारहरू निकै पछाडि परेका छन्। श्रम संस्कृति पार्टीका समीर तामाङ १ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत पाएका छन्।
ठूलो दल मानिने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले हालसम्म मात्र ४२ मत प्राप्त गरेकी छन्। झापा–५ को यो प्रारम्भिक परिणामले पुराना स्थापित दलहरूलाई कडा चुनौती दिइरहेको छ।













