बागलुङ र सल्यान ११ बजेदेखि मात्रै मतगणना सुरु हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बागलुङ र सल्यान ११ बजेदेखि मात्रै मतगणना सुरु हुने



काठमाडाैं। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य बागलुङ र सल्यान दुवै जिल्लामा आज शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ। बिहान बसेका छुट्टाछुट्टै सर्वदलीय बैठकले मतगणना प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।

बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले क्षेत्र नं. १ र २ दुवैको मतगणना कार्य ११ बजेदेखि नै सुरु गर्ने सहमति गरेको छ। मुख्य निर्वाचन अधिकृत सितादेवी शर्मा अधिकारीका अनुसार दलहरूबीच भएको सहमति बमोजिम मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइनेछ। बागलुङमा यसपटक फरक-फरक वडाका मतपत्रहरूलाई एकै स्थानमा मिसाएर गणना गर्ने तयारी गरिएको छ।

यता सल्यान जिल्लामा पनि ११ बजेदेखि नै मतगणना सुरु हुँदैछ। बिहान बसेको सर्वदलीय बैठकले गणनाको समय र प्रक्रियाबारे निर्णय गरेको हो। एउटा मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा बिहीबार भएको मतदानमा ५१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

सल्यानमा कुल १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् भने जिल्लाभर २ सय ८ मतदान केन्द्रहरू तोकिएका थिए।


प्रतिक्रिया दिनुहोस्