चुनाव सकिएपछि दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश, मान्दैन प्रहरी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनाव सकिएपछि दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश, मान्दैन प्रहरी



काठमाडौं । नेपाललाई ‘धर्म निरपेक्ष’लाई हटाएर किराँत, बौद्ध सहितको सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने र सांस्कृतिक प्रतीक स्वरुप राजसंस्था बहाली गर्नुपर्ने माग सहित विभिन्न चरणमा आन्दोलन र पैरवी गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई थुनामुक्त गर्न अदालतले शुक्रबार आदेश जारी गरेको हो । सरकारले उनलाई ‘चुनाव बिथोल्न खोजेको’ भनेर पक्राउ गरेको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले ‘पहिले राजसंस्था पुन:स्थापना र हिन्दुराष्ट्र घोषणा, त्यसपछिमात्रै चुनाव’ भन्दै विहीबार भएको निर्वाचन स्थगन गर्न माग गर्दै आएका थिए । उनले आह्वान गरेको बन्द तथा हड्तालका कारण चुनाव प्रभावित हुनसक्ने अड्कलबाजीपछि उनी पक्राउ परे ।

पटक पटक पक्राउ पर्दै, छुट्दै गरेको प्रसाईंलाई भक्तापुरको जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि प्रसाईंका तर्फबाट अधिवक्ता सुरेश बोहराले भक्तपुरका जिल्ला प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट हालेका दिए ।

उक्त रिटलाई सर्वोच्च अदालतले शुक्रबारका लागि शीर्ष प्राथमिकतामा राखेर सुनुवाई गर्यो । त्यससँगै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलास प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले आदेश पाए पनि उनी हालसम्म नछुटेको प्रहरीले जनाएको छ । चुनाब सकिएकाले अब यसै पनि छाड्ने मुडमै सरकार रहेको, तर मत गणना नसकिउञ्जेल हिरासतमै रोक्ने कोसिस भने भइरहेको उनका वकिलहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्