प्रतिनिधी सभामा दुई तिहाईको रफ्तार लिएर अघि बढ्यो रास्वपा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिनिधी सभामा दुई तिहाईको रफ्तार लिएर अघि बढ्यो रास्वपा



काठमाडौँ । जेनजी आन्दोलनको पुरापुर राजनीतिक लाभ हासिल गर्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधी सभामा दुई तिहाई सीट हासिल गर्ने लक्ष्यमा अघि बढेको छ । देशभर चुनावी मत गणना चल्दै जाँदा यस्तो परिदृष्य देखिएको हो ।

शनिबार साँझसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार देशभर १६५ निर्वाचन क्षेत्रमध्ये १२० हाराहारी सीट रास्वपाले प्राप्त गर्नसक्ने देखिएको छ । आयोगले साँझ ६ बजेसम्म देशभर ७३ निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा गरिसकेको छ । यसमध्ये ५८ सीटमा रास्वपालेमात्रै जीत हासिल गरेको छ । म्याग्दीबाट स्वतन्त्र उमेदवारी दिएका महावीर पुन पनि रास्वपाकै समर्थनमा जीत हासिल गरेका छन् ।

नेपाली कांग्रेसले ९, एमालेले ३, नेली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १–१ सीटमा जीत हासिल गरेका छन् ।

अग्रताको सूचीमा पनि रास्वपा असाध्यै अगाडी छ । मत गणना सम्पन्न नभएका र औपचापरिक रुपमा परिणम घोषणा नभएका ८८ सीटमध्ये ६३ सीटमा रास्वपाले अग्रता लिएको छ । कांग्रेस र एमालेले समान ९–९ सीटमा अग्रता लिएका छन् । नेकपाले ६ सीट र श्रम संस्कृति पार्टीले ३ सीटमा अग्रता लिएको छ ।

बाँकी दुई निर्वाचन क्षेत्रमा भने अहिलेसम्म मतगणना सुरु हुन नसकेको वा पहिलो परिणम घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगको विवरणमा देखिन्छ ।

उता समानुपातिक मत गणनामा पनि साँझ ६ बजेसम्मको विवरण हेर्दा कुल मतको ५३ प्रतिशतभन्दा बढी रास्वपा एक्लैले प्राप्त गरेको छ । कांग्रेसले १६ र एमालेले १३ प्रतिशत हाराहारी मत प्राप्त गरेको छ । नेकपाले साढे ५ प्रतिशत र रास्वपाले ४ प्रतिशतहाराहारी मत प्राप्त गरेको देखिन्छ । श्रम संस्कृति पार्टीले अहिलेसम्म २ प्रतिशतमात्रै भोट पाएको र उसको आधार क्षेत्र पूर्वी नेपालमा मात्रै भएका कारण उसलाई ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन मुस्किल पर्नसक्ने देखिएको छ ।

यस आधारमा पाँच वटा दलले मात्रै समानुपातिकमा सीट बाँड्ने संभावना बढेर गएको छ ।

यस आधारमा प्रारम्भिक मत गणनाको आधारमा रास्वपाले ६३ सीट, कांग्रेसले १९ सीट, एमालेले १६ सीट, नेकपाले ७ र राप्रपाले ५ सीट हासिल गर्नसक्ने देखिएको छ । यदी यही रफ्तार अघि बढेको खण्डमा रास्वपासँग १८४ सीट हासिल गर्ने छ । भलै, यसका लागि महावीर पुनलाई साथमा लिनु जरुरी हुनसक्छ ।

कतिपयले नेपाली सेना र कर्मचारीले दिने समानुपातिक मतदानको ठूलो हिस्सा रास्वपालाई गएको हुनसक्ने आँकलन गरेका छन् । यदी त्यसो भएको खण्डमा उक्त पार्टीको उपसभापती डोलप्रसाद अर्यालले भन्दै आएजस्तो १८६ सीट पनि हासिल हुनसक्छ । तर सुरुआति चरणमा शहरी क्षेत्रको मत गणना भइरहेको छ । विस्तारै ग्रामीण इलाकाको मत गणना सुरु भएसँगै रास्वपाको पक्षमा जाने मतको रफ्तार कम हुन थाल्यो भने चाहीँ उसलाई दुईतिहाइ हासिल गर्न अलिक कठीनाइ उत्पन्न हुन पनि सक्छ ।

तर, अहिलेसम्मको अवस्थामा कम्तिमा पनि १८४ सीट सुनिश्चित गर्न सफल हुने छनक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्