इरानले हर्मुज जलमार्गमा ठप्प गर्दा विश्व बजारमा तेलको मूल्य ११० डलर नाघ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इरानले हर्मुज जलमार्गमा ठप्प गर्दा विश्व बजारमा तेलको मूल्य ११० डलर नाघ्यो



काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध जारी राखेको हवाई आक्रमणका कारण विश्वभरका बजारमा गम्भीर असर परेको छ।

द्वन्द्व चर्किएसँगै हर्मुज जलमार्ग हुँदै हुने तेल ढुवानी अवरुद्ध हुने डरले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ११० डलरभन्दा माथि पुगेको छ। यसले विश्वभरका उपभोक्ता र व्यवसायीहरूका लागि ऊर्जाको लागत बढ्ने चिन्ता थपिएको छ।

सोमबार बिहान एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब २४ प्रतिशतले बढेर ११४.७४ डलर र नाइमेक्स लाइट स्वीटको मूल्य २६ प्रतिशतभन्दा बढीले बढेर ११४.७८ डलर पुगेको छ।

विश्वको कुल तेल आपूर्तिको करिब एक पाँचौँ हिस्सा हर्मुज जलमार्गबाट ढुवानी हुने भए पनि युद्ध सुरु भएयता उक्त मार्गबाट हुने यातायात लगभग ठप्प भएको छ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता तेलको मूल्य १०० डलर नाघेको यो पहिलो पटक हो।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेयता कच्चा तेलको मूल्यमा करिब ५० प्रतिशतले वृद्धि भइसकेको छ।

इरानले बदला स्वरूप हर्मुज जलमार्गमा ढुवानी लगभग ठप्प पारेको छ, जसले विश्वको कुल तेल आपूर्तिको करिब एक पाँचौँ हिस्सालाई जोखिममा पारेको छ। जलमार्ग बन्द हुँदा ओमान, संयुक्त अरब इमिरेट्स र कुवेत लगायतका ओपेक सदस्य राष्ट्रहरूले तेल भण्डारणमा चाप बढेपछि उत्पादन कटौती गर्न बाध्य भएका छन्।

यसका साथै कतार, साउदी अरेबिया र कुवेत लगायतका खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा भएका आक्रमणले आपूर्ति शृङ्खला थप बिग्रिएको छ।

तेलको मूल्यवृद्धिको असर एसियाली सेयर बजारमा देखिएको छ। सोमबार बिहान जापानको निक्केई २२५ मा ७ प्रतिशत, दक्षिण कोरियाको कोस्पीमा ८ प्रतिशत र हङकङको हाङसेङ इन्डेक्समा करिब ३ प्रतिशतले गिरावट आएको छ। वाल स्ट्रिटका एस एण्ड पी ५०० र नास्डाक फ्युचर्समा पनि ठूलो नोक्सानी देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक खतरा हटाउनका लागि यो छोटो अवधिको मूल्यवृद्धि सामान्य भएको बताएका छन्।

यता अमेरिकी ऊर्जा सचिवले भने इन्धनको मूल्यवृद्धिलाई अस्थायी भनेका छन्। तर, इरानको रिभोल्युसनरी गार्ड्सले यदि अमेरिका र इजरायलले आक्रमण जारी राखेमा तेलको मूल्य २०० डलर पुग्न सक्ने चेतावनी दिएको छ।

यस्तै कतारी ऊर्जा मन्त्री साद अल-काबीले क्षेत्रीय उत्पादकहरूले उत्पादन रोक्नुपर्ने अवस्था आउन सक्ने र मूल्य १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार तेलको मूल्यमा हुने प्रत्येक १० प्रतिशतको वृद्धिले मुद्रास्फीतिलाई ०.४ प्रतिशतले बढाउने र विश्व आर्थिक वृद्धिदरलाई ०.१५ प्रतिशतले घटाउने गर्दछ।

अर्थविद्हरूले यदि तेलको यो उच्च मूल्य केही सातासम्म कायम रहेमा विश्व अर्थतन्त्रका लागि यो ठूलो चुनौती हुने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्