कस्तो अचम्म ! सबै सेयर बढ्दा पनि किन डुबे यो कम्पनीका लगानीकर्ता ?
काठमाडौँ । सोमबार सेयर बजारमा अचम्म भो । भर्खरैमात्र प्राथमिक सेयर निष्काशन (आईपीओ) गरेको कम्पनी रिलायन्स स्पिनिङ मिल्सको सेयर बढेर आईपीओको मूल्यमा पुग्ला भनेको त, उल्टै घट्यो लौ ।
नेप्सेमा खासै कारोबार पनि हुन पाएन । सबै कम्पनीको सेयरको भाउ एक्कासी उचालियो । नेपाली राजनीतिक इतिहासमै दोस्रो पल्ट र विगत ६७ वर्षमा पहिलो पल्ट कुनै एकल दलले स्पष्ट दुई तिहाई बहुमत हासिल गर्ने बाटोमा अघि बढेपछि लगानीकर्तामा मनोबल उकासिएको छ । तर यस्तो बेलामा पनि एउटामात्रै कम्पनीको सेयर सस्तिनुले धेरैलाई अचम्ममा पारेको छ ।
सोमबार नेप्सेमा २५३ कम्पनीको सेयर किनबेच भए । त्यसमध्ये २५२ को मूल्य बढ्यो । एउटैमात्र कम्पनीको मूल्य घट्यो, त्यही हो रिलायन्स । यस कम्पनीको सेयर १० रुपैयाँ २० पैसामा घटेर प्रतिकित्ता मूल्य ६७५ रुपैयाँ ३० पैसामा झरेको छ । यो सेयर नेप्सेमा कारोबार सुरु भएदेखि यता पहिलो पल्ट भाउ घटेको हो । सेयर मूल्य डेढ प्रतिशत सस्तिएको छ ।
यो किन पनि अचम्म हो भने, सर्वसाधारणले गत पुसमा यो कम्पनीको सेयर प्रतिकित्ता ८२१ रुपैयाँका दरले प्राथमिक बजारबाट किनेका थिए । तर अब त्यो मूल्यमा दोस्रो बजार कहिले पुग्छ भन्ने अन्योल बढेको छ ।
उक्त सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको ४० प्रतिशत आईपीओ प्रतिकित्ता ९१२ रुपैयाँमा बिकेको थियो । त्यसमा १० प्रतिशत छुट दिएर आम सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा किनेका थिए । तर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को दोस्रो बजारमा कारोबार खुल्दा प्रथम मूल्य रू. ३०० थियो । त्यसपछि सेयर लगातार बढ्न थाल्यो । चुनाव अगाडी एक कित्ता सेयरको मूल्य ६८५ रुपैयाँ ५० पैसासम्म पुगेको थियो ।
तर चुनावपछि खुलेको पहिलो दिन नेप्सेमा यो सेयरको मूल्य अनपेक्षित रुपमा घटेको छ । यसबीच कुल १० दिन सेयर बजार खुलेको छ । यी १० दिनमा जम्मा ६७० कित्ता मात्रै सेयर किनबेच भएको छ । सोमबार त १० कित्तामात्रै कारोबार हुन सक्यो ।
मानिसहरुले आफैँले आईपीओ किनेको भाउमा पनि मूल्य नआईपुगेपछि यो कम्पनीको सेयर खासै बेच्न चाहेका छैनन् । त्यसैले कारोबारको मूल्य बढाउने कोसिसमा मात्रै सानो तिनो कारोबार भइरहेको छ, जुन ब्रोकर कम्पनीहरुबीच ‘साटासाट’ गरेर भाउ बढाउने प्रयासको हिस्सा पनि हुनसक्छ ।
यद्यपि, यो कम्पनीको नाफामा ठूलो संकुचन आउने जोखिम पनि छ । टर्कीले नेपालबाछ धागो नकिनिरहेको, भारतले अमेरिकामा धागो निर्यात गर्न नपाएपछि नेपाली र दक्षिण एसियाली बजारमा प्रतिस्पर्धा बढ्ने अवस्था देखिएको भनेर अहिले रिलायन्सका ठूला लगानीकर्ता तनावमा छन् । यो कम्पनीका मालिकहरुले नेपालबाट पैसा बाहिर लाने कोसिस गरिरहेको खबरहरु आइरहँदा बेलाबखत विवादमा पनि तानिने गरेका छन् ।
यता, नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने ठूलो रकम ‘नतिरी सुख नपाइने’ भएको छ । यस्ता बाध्यताहरुले रिलायन्सलाई घेरेका कारण उक्त कम्पनीले आईपीओ निकाल्दाकै मूल्यमा बजार चलाउन सजिलो नहुने देखिएको भनेर लगानीकर्ता खासै आकर्षित नरहेको ब्रोकरहरु बताउँछन् ।













