समानुपातिकतर्फ रास्वपाको अग्रता कायमै, करिब ५८ सीटको सम्भावना
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अग्रस्थानमा देखिएको छ। सोमबार राति करिब १२ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार १ करोडभन्दा बढी मत गणना भइसकेको छ।
हालसम्मको गणनाअनुसार रास्वपाले ४८ लाख १४ हजार ५४२ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको ४८.१० प्रतिशत हो। यही अनुपात कायम रहने हो भने समानुपातिकतर्फ रास्वपाले करिब ५८ सीट प्राप्त गर्ने अनुमान गरिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने रास्वपाले कुल १६५ मध्ये १२५ सीट जितेर ऐतिहासिक ‘सुनामी’ परिणाम हासिल गरिसकेको छ।
समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म १६ लाख २० हजार ५५९ मत अर्थात् १६.१९ प्रतिशत मत प्राप्त गरेको छ। यस आधारमा कांग्रेसले करिब १९ सीट प्राप्त गर्ने सम्भावना देखिएको छ।
तेस्रो स्थानमा रहेको एमालेले १३ लाख ४९ हजार ४५० मत प्राप्त गर्दै १३.४८ प्रतिशत मत हासिल गरेको छ। यस आधारमा एमालेले करिब १६ सीट पाउने अनुमान गरिएको छ।
यसैगरी नेकपाले ७ लाख ३३ हजार ६१० मत अर्थात् ७.३३ प्रतिशत मत प्राप्त गरेको छ, जसबाट उसले करिब ९ सीट प्राप्त गर्न सक्ने देखिन्छ। श्रम संस्कृतिले ३ लाख ४१ हजार ८३ मत (३.४१ प्रतिशत) प्राप्त गर्दै करिब ४ सीट पाउने सम्भावना देखिएको छ। राप्रपाले ३ लाख १५ हजार ८२० मत अर्थात् ३.१५ प्रतिशत मत प्राप्त गरेको छ र उसले पनि करिब ४ सीट पाउने अनुमान गरिएको छ।
नेपालको संविधानअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट संसदमा प्रतिनिधित्व गर्न कम्तिमा ३ प्रतिशत मतको ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने व्यवस्था छ। अर्थात् कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व पाउँछन्।
यस व्यवस्थाका कारण थ्रेसहोल्डभन्दा कम मत प्राप्त गर्ने दलहरू संसदबाहिर रहने अवस्था बनेको छ। हालसम्मको गणनाअनुसार ३ प्रतिशतभन्दा कम मत ल्याएका ५१ वटा साना दलहरूले संयुक्त रूपमा ८ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। तर उनीहरूले थ्रेसहोल्ड पार गर्न नसकेकाले आगामी संसदमा प्रतिनिधित्व पाउने छैनन्।
यसरी प्रत्यक्ष निर्वाचन प्रणालीमा अत्यन्त ठूलो विजय हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि स्पष्ट अग्रता कायम राखेको देखिन्छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म सीटको संख्यामा केही परिवर्तन हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।













