विश्वका प्रदूषित शहरको दोस्रो सूचीमा काठमाडौं, वायु गुणस्तर सूचकाङ्क २०० पार
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढपक्कै ढाकिएको छ । बाक्लो तुवाँलोको घुम्टोभित्र निसास्सिएको काठमाडौं आज बिहान विश्वकै दोस्रो प्रदूषित शहर बनेकाे छ।
विश्वका प्रमुख शहरहरूको वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ को पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं आज विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत गरेको हाे।
सामान्यतया १५० सम्मको एक्यूआईलाई अस्वस्थ मानिने भए पनि काठमाडाैंकाे वायुमण्डलमा भएकाे वायु गुणस्तर सूचकांक २०० को विन्दु पार गर्नुलाई स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ।
विश्वका प्रमुख शहरहरूको प्रदूषण श्रेणीमा छिमेकी मुलुक भारतको राजधानी दिल्ली ३०२ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी, नेपालको काठमाडौं दोस्रो र पाकिस्तानको लाहोर १८६ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन्। बंगलादेशको ढाका र म्यानमारको याङ्गुन पनि शीर्ष पाँच प्रदूषित शहरको सूचीमा अटाएका छन्।
विशेषगरी हिउँदको अन्त्य र प्रि-मनसुनको सुरुवातमा धुलोका कण र धुवाँका कारण वायुमण्डल धमिलो हुने गरेको छ। धुम्मिएको आकाश र बढ्दो प्रदूषणका कारण सर्वसाधारणमा आँखा पोल्ने, खोकी लाग्ने र घाँटी दुख्ने जस्ता समस्या देखिन थालेका छन्।
चिकित्सकहरूले यस्तो घातक हावाबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न र सकभर घरभित्रै रहन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण मानिएको छ।














