अर्थमन्त्री खनालले बुझाए रातो पासपोर्ट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थमन्त्री खनालले बुझाए रातो पासपोर्ट



काठमाडौं । मुलुकमा आम निर्वाचनको नतिजा सार्वजनिक भई नयाँ राजनीतिक समीकरणको बहस सुरु भएसँगै अन्तरिम सरकारका अर्थमन्त्री रमेश्वर प्रसाद खनालले आफ्नो कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई एक पत्र लेख्दै उनले आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको DA 0002710 नम्बरको कूटनीतिक राहदानी फिर्ता गरेका हुन् ।

निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहँदा र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनु अगावै मन्त्री खनालले पासपोर्ट बुझाउनुलाई राजनीतिक वृत्तमा उच्च नैतिक आचरणका रूपमा हेरिएको छ ।

“मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. DA 0002710 को प्रयोजन समाप्त भएकाले राहदानी विभागमा फिर्ता बुझाइदिन अनुरोध गर्दछु।“, अर्थमन्त्रीले निवेदनमा भनेका छन् ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित र ऐतिहासिक जित हासिल गरेको छ । देशका प्रमुख सहरहरू र धेरैजसो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतले विजयी भएसँगै अबको सरकारको नेतृत्व सोही दलले गर्ने छ ।

पुराना राजनीतिक दलहरूलाई पछि पार्दै रास्वपाले ल्याएको यो ’सुनामी’ पछि अन्तरिम सरकारका मन्त्रीहरूले क्रमश: पद छाड्ने र जिम्मेवारी हस्तान्तरण गर्ने तयारी थालेका छन् । अर्थमन्त्री खनालको यो कदमले नयाँ जनमतको सम्मान गर्दै मार्गप्रशस्त गर्ने संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्