समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको एकछत्र राज
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक र अभूतपूर्व जनमत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म गणना भएको एक करोड सात लाखभन्दा बढी मतमध्ये रास्वपा एक्लैले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरी आफ्नो एकछत्र राज कायम गरेको छ ।
यो कुल गणना भएको मतको करिब ४७.८५ प्रतिशत हो । प्रत्यक्षतर्फ समेत १२५ सिट जितेर पहिलो दल बनेको रास्वपाले समानुपातिकतर्फ पनि अन्य स्थापित दलहरूलाई निकै पछाडि पारेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब इलाम–१ र गोरखा–१ को समानुपातिक मतगणना मात्र बाँकी छ । जुन केही समयमै सकिने तयारीमा छ । हालसम्मको नतिजाले नेपाली राजनीतिमा रास्वपाको उदयलाई शक्तिशाली रूपमा स्थापित गरिदिएको छ ।
रास्वपाको तुलनामा पुराना र ठूला भनिएका दलहरूको अवस्था निकै कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४८ हजार ३३६ मत (१६.२९%) मात्र प्राप्त गरेको छ ।
त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत (१३.४९%) पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १७१ मत ल्याएको छ । नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टी ३ लाख ७८ हजार ५९४ मतसहित पाँचौँ स्थानमा रहन सफल भएको छ ।
तस्विरमा देखिएको तथ्याङ्क अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४६६ मत प्राप्त गरी थ्रेसहोल्ड कटाएको छ । तर, यसअघि राष्ट्रिय दलको मान्यता पाएका र सत्ताको बागडोर सम्हालेका मधेशवादी दलहरू भने यसपटक निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३१४ मत मात्र प्राप्त गरेको छ भने जनमत पार्टी ७८ हजार ९५३ मतमा सीमित भएको छ ।
अन्य साना दलहरूको अवस्था झनै नाजुक देखिएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत पाउँदा एकल चिन्ह ’चकिया’ लिएर चुनाव लडेको गठबन्धनले ६१ हजार ५३३ मत मात्र प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल नेपाल र राष्ट्रिय जनमोर्चा जस्ता दलहरूले पनि उल्लेख्य मत पाउन सकेनन् ।
यस निर्वाचन परिणामले मतदाताले परिवर्तन र नयाँ अनुहारलाई प्राथमिकता दिएको प्रष्ट पारेको छ । विशेषगरी रास्वपाले पाएको ५१ लाखभन्दा बढी मतले नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने देखिएको छ ।
निर्वाचन आयोगले मतगणना पूर्ण रूपमा सकिएपछि आधिकारिक रूपमा दलहरूले पाउने सिट संख्या घोषणा गर्ने तयारी गरेको छ । हालसम्मको रुझानले रास्वपा आगामी संसदमा सबैभन्दा बलियो शक्तिका रूपमा प्रस्तुत हुने निश्चित भएको छ ।













