के इरान युद्धको लाभ रूसी राष्ट्रपतिले पो उठाइरहेका छन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

के इरान युद्धको लाभ रूसी राष्ट्रपतिले पो उठाइरहेका छन् ?



काठमाडौँ । एक साताभित्रै रुस र इरानका राष्ट्रपतिहरूबीच दुई पटक टेलिफोन संवाद भयो। इरानमाथि अमेरिका र इजरायलले आक्रमण जारी राख्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई एक अन्तर्राष्ट्रिय शान्तिदूतका रूपमा उभ्याउन खोजेका छन्।

तर, यो भूमिकालाई विश्वले सहजै पत्याउने अवस्था भने छैन। सन् २०२२ मा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमणको आदेश दिने नेता पुटिन नै थिए। त्यतिबेला संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथिको आक्रमणलाई राष्ट्रसंघीय बडापत्रको उल्लंघन भन्दै निन्दा गरेको थियो।

अहिले मस्कोले इरान द्वन्द्वको ‘शीघ्र न्यूनीकरण र राजनीतिक समाधान’का लागि आह्वान गरिरहँदा, अर्कोतर्फ युक्रेन विरुद्धको युद्धलाई भने निरन्तरता दिइरहेको छ।

रुस र इरानबीच ‘विस्तृत रणनीतिक साझेदारी’ सम्झौता रहेको छ। यसै साता पुटिनले तेहरानप्रति आफ्नो ‘अविचलित समर्थन’ रहेको पुनः पुष्टि गरे। तर, यो रणनीतिक साझेदारी आपसी रक्षा सन्धिको तहमा भने पुगिसकेको छैन।

यसको सट्टा मस्कोले द्वन्द्वमा मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन संवादमा पुटिनले खाडी मुलुकका नेताहरू र इरानी राष्ट्रपतिसँगको सम्पर्कका आधारमा इरान संकटको कूटनीतिक समाधानका लागि केही विचारहरू व्यक्त गरे।

रुसका लागि यो खाडी र मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने र आफूलाई एक शक्तिशाली मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर बनेको छ।

वासिङ्टनसँगको सम्बन्ध र युक्रेन युद्ध

मस्कोका लागि यो संकट वासिङ्टनसँगको सम्बन्ध अझ गहिरो बनाउने अवसर पनि हो। क्रेमलिन ट्रम्प प्रशासनसँग राम्रो कार्यसम्बन्ध कायम राख्न उत्सुक देखिन्छ। ट्रम्पसँगको सुमधुर सम्बन्धले युक्रेन युद्धमा रुसी लक्ष्यहरू पूरा गर्न मद्दत पुग्ने मस्कोको बुझाइ छ।

यही कारणले पुटिनले इरान युद्धलाई लिएर व्यक्तिगत वा सार्वजनिक रूपमा ट्रम्पको आलोचना नगर्न सावधानी अपनाएका छन्। पुटिनसँगको कुराकानीपछि ट्रम्पले पनि उनी सहयोगी हुन खोजेको बताए। तर, ट्रम्पले पुटिनलाई इरान भन्दा पनि युक्रेन युद्ध अन्त्य गरेर अझ बढी सहयोगी बन्न आग्रह गरे।

इरानमा तनाव कम गर्न आह्वान गरिरहँदा मस्कोले यस द्वन्द्वबाट अन्य फाइदाहरू पनि देखिरहेको छ। पहिलो फाइदा आर्थिक पक्ष हो। विश्व बजारमा तेलको मूल्यमा भएको वृद्धिले रुसी सरकारको राजस्वमा ठूलो राहत पुर्‍याएको छ।

लामो समयसम्म तेलको मूल्य उच्च रहँदा रुसलाई युक्रेनमा युद्ध जारी राख्न आवश्यक खर्च जुटाउन सहज हुनेछ। रुसको संघीय बजेट प्रतिब्यारेल ५९ डलरमा तेल निर्यात गर्ने लक्ष्यमा आधारित छ। हालैका महिनाहरूमा तेलको मूल्य त्यो भन्दा निकै तल झरेको थियो, तर यस साता कच्चा तेलको मूल्य नाटकीय रूपमा बढेर १२० डलर नजिक पुग्यो।

आर्थिक लाभ र सम्भावित प्रतिबन्ध फुकुवा

इरान युद्धका कारण सिर्जित तेलको अभाव कम गर्न ट्रम्पले केही देशहरूमाथि लगाइएका तेलसम्बन्धी प्रतिबन्धहरू हटाउन सक्ने संकेत गरेका छन्। यदि रुसमाथिको प्रतिबन्ध खुकुलो भयो भने मस्कोले अझ ठूलो आर्थिक लाभ प्राप्त गर्नेछ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई किभका लागि ‘गम्भीर धक्का’ भन्दै त्यसो नगर्न ट्रम्पलाई आग्रह गरेका छन्। रुसभित्रका सरकारी पक्षधर सञ्चारमाध्यमहरू यस विषयमा निकै उत्साहित देखिन्छन्। उनीहरूले तेलको महँगो मूल्य नै प्रतिबन्धहरू खारेज गर्ने मुख्य आधार बन्न सक्ने टिप्पणी गरिरहेका छन्।

यद्यपि, क्रेमलिनले अमेरिकी राष्ट्रपतिको आलोचना नगरे पनि केही रुसी पत्रिकाहरूले भने ट्रम्प र इरान युद्धको कडा विरोध गरेका छन्। केही ट्याब्लोइड पत्रिकाहरूले त ट्रम्पलाई ‘शान्तिका राष्ट्रपति’ भनिएकोमा व्यङ्ग्य गर्दै उनले आफ्नो विवेक गुमाएको सम्म लेखेका छन्।

मस्कोले एकातिर कूटनीतिको पासा फ्याँकिरहेको छ भने अर्कोतिर यस संकटबाट आफ्नो अर्थव्यवस्था र युक्रेन रणनीतिलाई बलियो बनाउने दाउ हेरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्