उडान रद्द गर्ने ‘संकट’पछि इन्डिगो एयरलाइन्सका सीईओले दिए राजीनामा
काठमाडौँ । भारतको सबैभन्दा ठूलो विमानसेवा कम्पनी इन्डिगोका मुख्य कार्यकारी अधिकारीले पदबाट राजीनामा दिएका छन्।
हजारौँ उडानहरू रद्द भएर सिर्जित संकटको केही महिनापछि यो परिवर्तन आएको हो। विमानसेवाले पिटर एल्बर्सको बहिर्गमनलाई तत्कालै लागू हुने गरी स्वीकृत गरेको छ। कम्पनीका अनुसार उनले ‘व्यक्तिगत कारण’ देखाउँदै पद त्यागेका हुन्, तर यसको विस्तृत विवरण भने खुलाइएको छैन।
गत मंसिरको उत्तरार्धमा पाइलटहरूको कार्यतालिकासम्बन्धी नयाँ नियमका कारण व्यापक उडानहरू रद्द हुँदा भारतभर यात्रुहरू अलपत्र परेका थिए। त्यसयता यो कम्पनी र यसको नेतृत्वमाथि कडा निगरानी बढ्दै गएको थियो।
भारतको आन्तरिक उड्डयन बजारको झण्डै दुई-तिहाइ हिस्सा ओगट्ने यस कम्पनीको सञ्चालनमा आउने अवरोधले तीव्र गतिमा विस्तार भइरहेको भारतीय हवाई क्षेत्रमा ठूलो प्रभाव पार्ने गर्दछ।
झण्डै ४४० विमान रहेको यो कम्पनीले मुख्य रूपमा भारतभित्र र केही अन्तर्राष्ट्रिय गन्तव्यहरू जस्तै पश्चिम एसियाका खाडी मुलुक, युरोप र एसियामा सेवा दिँदै आएको छ। विश्वकै तीव्र विस्तार भइरहेको हवाई बजारमध्ये एक मानिने भारतको उड्डयन क्षेत्रको विकासमा यसको महत्वपूर्ण भूमिका रहेको छ।
कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा नयाँ कार्यकारी प्रमुखको खोजी नहुन्जेलसम्मका लागि सह-संस्थापक राहुल भाटियाले कार्यभार सम्हाल्ने उल्लेख छ।
गत मंसिरमा इन्डिगोले करिब ४ हजार ५ सय उडानहरू रद्द गरेको थियो, जुन यसको २० वर्षको इतिहासमै सबैभन्दा ठूलो अवरोध थियो। यसले गर्दा देशका विभिन्न विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका थिए।
पाइलटहरूको थकान कम गर्नका लागि ल्याइएको उडान र आरामसम्बन्धी नयाँ नियम लागू भएपछि यो समस्या उत्पन्न भएको थियो। नयाँ नियम कार्यान्वयनमा आएपछि कति पाइलट आवश्यक पर्छन् भन्ने कुराको सही आँकलन गर्न नसकेको कुरा कम्पनीले पछि स्वीकार गरेको थियो।
पाइलटको अभावका कारण धेरै विमानहरू कानुनी रूपमा उडाउन नमिल्ने भएपछि उडानहरू रद्द गर्नुपरेको थियो। यस घटनापछि भारतको उड्डयन नियामक निकायले कम्पनीलाई करिब २४ लाख ५० हजार डलर जरिवाना गर्नुका साथै व्यवस्थापनको कमजोरीलाई लिएर एल्बर्स लगायतका वरिष्ठ अधिकारीहरूको आलोचना गरेको थियो।
भाटियाले कर्मचारीहरूलाई पठाएको एउटा आन्तरिक पत्रमा गत मंसिरमा जे भयो, त्यो कहिल्यै हुनु नहुने थियो भन्दै संकटका बेला काम गर्ने कर्मचारीहरूलाई धन्यवाद दिएका छन्।
एल्बर्स सन् २०२२ मा उड्डयन क्षेत्रको लामो अनुभवसहित यस कम्पनीमा आवद्ध भएका थिए। उनको कार्यकालमा कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अनुरूप एयरबससँग ५०० वटा साना र केही ठूला विमान खरिद गर्ने ठूलो सम्झौता समेत गरेको थियो।
















