बेलायतको नयाँ भिसा नीति: चार देशका नागरिकलाई विद्यार्थी भिसामा प्रतिबन्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बेलायतको नयाँ भिसा नीति: चार देशका नागरिकलाई विद्यार्थी भिसामा प्रतिबन्ध



काठमाडाैं । बेलायत सरकारले पहिलोपटक चार देशका नागरिकहरूका लागि भिसा आवेदनमा ‘इमर्जेन्सी ब्रेक’ (आपतकालीन रोक) लगाएको छ।

बेलायतले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका नागरिकहरूले बेलायतको उदारताको फाइदा उठाउँदै शरणार्थी दाबी गर्ने गरेको आरोप लगाउँदै भिसामा कडाइ गर्ने निर्णय गरेकाे हो।

नयाँ प्रतिबन्ध अनुसार अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका नागरिकहरूलाई विद्यार्थी भिसा दिन बन्द गरिएको छ। यसका साथै अफगानी नागरिकहरूका लागि कामदार भिसामा पनि रोक लगाइएको छ।

गृहमन्त्री शबाना महमुदले यी देशका नागरिकहरूले कानुनी आप्रवासन मार्गलाई ‘पछाडिको ढोका’ को रूपमा प्रयोग गरी बेलायतमा शरण माग्ने क्रम बढेको भन्दै यस्ताे कदम चालिएकाे बताइन् ।

बेलायतले युद्ध र उत्पीडनबाट भागेका मानिसहरूलाई सधैं आश्रय दिने गरे पनि उक्त भिसा प्रणालीको दुरुपयोग हुन नहुने भन्दै उदारताको नाजायज फाइदा उठाउन खोज्नेहरूका लागि भिसा नदिने अभूतपूर्व निर्णय लिएकाे बताइन्। आफ्ना सीमाहरूमा व्यवस्था र नियन्त्रण कायम गर्ने उनले स्पष्ट पारिन् ।

होम अफिस (बेलायती गृह मन्त्रालय) को तथ्याङ्क अनुसार सन् २०२५ मा शरणार्थी दाबी गर्ने १ लाख मानिसमध्ये ३९ प्रतिशत मानिसहरू विद्यार्थी भिसा जस्ता कानुनी मार्गबाटै बेलायत प्रवेश गरेका थिए। विशेष गरी सन् २०२१ देखि २०२५ को सेप्टेम्बरसम्म अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीहरूबाट पर्ने शरणार्थी आवेदनमा उल्लेख्य वृद्धि भएको मन्त्रालयको दाबी छ।

यो भिसा प्रतिबन्ध गत मार्च ३ देखि आधिकारिक रूपमा अध्यागमन नियममा परिवर्तन गरी लागू गरिएकाे छ। यसअघि गत नोभेम्बरमा एङ्गोला, नामिबिया र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विरुद्ध पनि यस्तै कदम चाल्ने चेतावनी दिइएको थियो, जसका कारण ती देशहरूले आफ्ना नागरिक फिर्ता लिन सहमति जनाएका थिए।

अबदेखि हरेक शरणार्थीलाई उनीहरूको हैसियत अस्थायी मात्र हुने र त्यो ३० महिनाका लागि मात्र मान्य हुने जानकारी दिइनेछ। यदि उनीहरूको देश सुरक्षित भएको मानिएमा उनीहरूलाई अनिवार्य रूपमा फिर्ता पठाइनेछ।


प्रतिक्रिया दिनुहोस्