एटीआर–७२ विमानको ऐतिहासिक बिदाइ, १६ वर्षमा २५ लाख यात्रुको सेवा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एटीआर–७२ विमानको ऐतिहासिक बिदाइ, १६ वर्षमा २५ लाख यात्रुको सेवा



विश्वमै पहिलो पटक एटीआर–७२ विमानले आफ्नो निर्धारित ७२ हजार उडान चक्र (साइकल) पूरा गरी ऐतिहासिक अवकाश प्राप्त गरेको छ। करिब १६ वर्षको सेवा अवधिमा २५ लाख यात्रुलाई उडाएको यो विमान सुरक्षित मर्मतसम्भार र उच्च उडान मानकको नमूना बनेको छ।

काठमाडौँ । हवाई उड्डयन इतिहासमा एक विशेष अध्याय थप्दै ७२ सिट क्षमताको एटीआर–७२ विमानले आफ्नो पूर्ण आयु समाप्त गरी आकाशबाट विश्राम लिएको छ। निर्धारित उडान चक्र पूरा गरेर व्यावसायिक सेवाबाट यसरी बिदा हुने यो विश्वकै पहिलो एटीआर–७२ विमान बनेको छ।

कुनै पनि विमानको उमेर उसको उडान र अवतरणको संख्या अर्थात् ‘साइकल’ बाट तय गरिन्छ, जसअनुसार यस विमानले तोकिएको अधिकतम ७२ हजार साइकल सफलतापूर्वक पूरा गरेर एक दुर्लभ कीर्तिमान कायम गरेको हो।

सन् २०१० को जुलाईदेखि नेपाली आकाशमा व्यावसायिक उडान सुरु गरेको यो विमानले करिब १६ वर्षको अवधिमा झण्डै २५ लाख यात्रुलाई गन्तव्यमा पुर्‍याएको थियो। मार्च ९, २०२६ मा भैरहवाबाट काठमाडौंका लागि गरिएको उडान नै यसको अन्तिम व्यावसायिक यात्रा बन्यो।

लामो समयसम्म नेपाली सुगम हवाई यात्रामा मेरुदण्ड बनेको यस विमानले मुलुकको पर्यटन र आन्तरिक कनेक्टिभिटीमा उल्लेख्य योगदान पुर्‍याएको छ। विमानको उचित मर्मतसम्भार र प्राविधिक सक्षमताका कारण नै यसलाई यसको पूर्ण क्षमतासम्म सुरक्षित रूपमा सञ्चालन गर्न सम्भव भएको हो।

विमान उत्पादक कम्पनीका उच्च अधिकारीहरूले पनि यस ऐतिहासिक उपलब्धिलाई हवाई सुरक्षा र व्यवस्थापनको उत्कृष्ट नमुनाका रूपमा व्याख्या गरेका छन्। प्राविधिक रूपमा अत्यन्तै सुरक्षित मानिएको यस विमानलाई दक्ष जनशक्ति र उपयुक्त वातावरणका कारण अन्तिम उडानसम्म पनि चुस्त राखिएको थियो। उड्डयन क्षेत्रका नियमनकारी निकायले यसलाई उच्च सुरक्षा प्रतिबद्धताको परिणाम मानेका छन्।

यो सुखद विदाईसँगै निजी क्षेत्रको वायुसेवा कम्पनीले आफ्नो बजार विस्तार र विश्वसनीयतामा नयाँ उचाइ थपेको छ। यसअघि सानो क्षमताको एटीआर–४२ विमानलाई पनि यसरी नै पूर्ण आयु उपयोग गरी बिदा गरिएको थियो।

हाल आन्तरिक र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानमा सक्रिय रहेको यस सेवा प्रदायकले आफ्ना पुराना विमानलाई प्रक्रियागत रूपमा विस्थापित गर्दै नयाँ र सुरक्षित उडानको सुनिश्चिततालाई निरन्तरता दिने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्