एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधन, पशुपतिनाथ आर्यघाटमा आजै अन्त्येष्टि गरिने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
केही समयदेखि अस्वस्थ रहँदै आएका ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका दुई छोरा र तीन छोरी छन्।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ। निवासमा श्रद्धाञ्जली अर्पण गरेपश्चात् आजै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने बताइएको छ।
उनको निधनको खबर सार्वजनिक भएलगत्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।













