चुनावी सरगर्मी मत्थर भएसँगै घट्यो अण्डाको भाउ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनावी सरगर्मी मत्थर भएसँगै घट्यो अण्डाको भाउ



काठमाडौँ । नेपाली भान्सामा पछिल्लो समय राम्रै हिस्सेदारी ओगट्न थालेको कुखुराको फुल (अण्डा)को मूल्यमा गिरावट आएको छ। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएलगत्तै बजारमा अण्डा सस्तो भएको हो।

नेपाल लेयर्स कुखुरापालक संघले आजैदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेपछि उपभोक्ताले राहत महसुस गरेका छन्। नयाँ दररेट अनुसार अण्डाको प्रतिक्रेट मूल्यमा ४० रुपैयाँसम्मको गिरावट देखिएको छ।

बजारको नयाँ समीकरण अनुसार यसअघि ४९५ रुपैयाँमा बिक्री भइरहेको एक्स एल अण्डाको मूल्य अब ४५५ रुपैयाँ कायम भएको छ। त्यसैगरी ठूलो र मध्यम आकारका अण्डाको मूल्यमा पनि प्रति क्रेट ३५ रुपैयाँले कटौती गरिएको छ। जसअनुसार ठूलो अण्डा ४४० रुपैयाँ र मध्यम अण्डा ४१० रुपैयाँमा उपलब्ध हुने संघले जानकारी दिएको छ।

निर्वाचनको समयमा अण्डाको माग अत्यधिक बढेका कारण मूल्यले आकाश छोएको भए पनि अहिले उपभोग दरमा आएको कमी नै मूल्य घटाउनुको मुख्य कारण रहेको व्यवसायीहरूले बताए।

हाल नेपालका फार्महरूबाट दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन भइरहेको तथ्यांक छ। काठमाडौँ, पोखरा, धनगढी र झापाजस्ता प्रमुख व्यापारिक केन्द्रहरूको माग र आपूर्तिको अवस्थालाई सूक्ष्म अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको संघले स्पष्ट पारेको छ।

चुनावको रौनक सकिएपछि बजार आफ्नो पुरानै लयमा फर्कन थालेको यो संकेतले आम उपभोक्तालाई भने केही राहत दिएको छ। भलै, यसको मार कुखुरापालक किसानको थाप्लोमा पर्नु त छँदै छ ।


प्रतिक्रिया दिनुहोस्