नयाँ सरकार आउँदै गर्दा घट्यो वाणिज्य बैंकको ब्याजदर, लगानीकर्तामा उत्साह ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नयाँ सरकार आउँदै गर्दा घट्यो वाणिज्य बैंकको ब्याजदर, लगानीकर्तामा उत्साह !



काठमाडौं । नेपालको राजनीतिमा आएको एउटा ठूलो हलचल र नयाँ सरकार गठनको पूर्वसन्ध्यामा बैंकको ब्याजदर पनि घटेको छ । आज चैत १ गते बाट लागु हुने गरी बैंकहरुले आफ्नो ब्याजदार घटाएका छन् । 

जेन–जी जनआन्दोलन पछि गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ नतिजा ल्याएको छ । रास्वपाबाट काठमाडौं महानगर पालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । 

अब पुरै रास्वपाकै सरकार बन्ने देखिएको छ । बालेनले देशको बागडोर सम्हाल्दै गर्दा बैंकको ब्याजदर पनि घट्नुले लगानीको वातावरण अझ बलियो बन्दै गएको देखिएको छ ।  

हालै सार्वजनिक भएको वाणिज्य बैंकहरूको ब्याजदर सम्बन्धी तथ्याङ्कले बैंकहरूको मुद्दती निक्षेपको ब्याजदरमा उल्लेख्य गिरावट आएको देखाएको छ । धेरैले आसन्न ’बालेन सरकार’ लाई विश्वास गरेको देखिएको छ । बालेन आएपछि स्थिर सरकार हुने र देश आर्थिक प्रगतिमा जाने भन्दै चर्चा चलिरहेको छ । यही बिचमा वाणिज्य बैंकको पनि ब्याजदर घटेपछि लगानीको वातावरण अझ बनेको देखिन्छ । 

रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा नै “सस्तो ब्याजदर र सहज कर्जा“ को नीतिलाई प्राथमिकता दिएको थियो । सरकार गठन हुनु अगावै बजारमा देखिएको यो गिरावटले रास्वपाको आर्थिक कार्यदिशालाई बजारले अनुमोदन गरेको संकेत गर्दछ ।

२० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर फागुनमा ४.५७ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४९ प्रतिशत कायम भएको छ । यो अघिल्लो महिनाको तुलनामा ०.०८ प्रतिशत विन्दुको गिरावट हो। त्यसैगरी, संस्थागत निक्षेपतर्फ पनि ब्याजदर ३.३७ प्रतिशतबाट घटेर ३.२९ प्रतिशतमा झरेको छ ।

चैत महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाउने बैंकहरूमा प्राइम बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी बैंक, ग्लोबल आइएमई र नेपाल बैंक रहेका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा नेपाल बैंक देखिएको छ । जसले व्यक्तिगततर्फ ५.१० प्रतिशतबाट घटाएर ४.५० प्रतिशत (०.६० विन्दुको गिरावट) कायम गरेको छ । त्यस्तै कुमारी बैंकले पनि ०.३१ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

संस्थागत निक्षेपतर्फ प्रभु बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ । फागुनमा ३.५५ प्रतिशत रहेको प्रभुको संस्थागत ब्याजदर चैतमा २.७५ प्रतिशतमा झरेको छ । ग्लोबल आइएमई र नेपाल बैंकले पनि संस्थागत तर्फको ब्याजदरमा क्रमश: ०.५० र ०.२५ प्रतिशत विन्दुले कमी ल्याएका छन् ।

एभरेष्ट बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज, सिटिजन्स, सानिमा, नबिल, एनआईसी एशिया, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले फागुनकै ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएका छन् । यी बैंकहरूको ब्याजदरमा कुनै परिवर्तन आएको छैन । एनआईसी एशिया, एनएमबि, राष्ट्रिय वाणिज्य र हिमालयन बैंकले व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम राखेका छन् । जुन हालको बजारमा तुलनात्मक रूपमा उच्च देखिएको छ ।

लामो समयदेखि उच्च ब्याजदरका कारण प्रताडित रहेका ऋणी र व्यवसायीहरूका लागि यो समाचार एउटा ठूलो राहतको विषय बनेको छ ।

लामो समयदेखि पर्ख र हेरको अवस्थामा रहेका ठूला निजी व्यवसायीहरू अब उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उत्साहित देखिएका छन् । स्थिर सरकार र सस्तो ब्याजदरको संयोगले नेपालमा औद्योगिक क्रान्ति ल्याउन सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको आर्थिक नीति मुख्यतया डिजिटल अर्थतन्त्र, सुशासन र पारदर्शी वित्तीय प्रणालीमा आधारित छ । बालेन शाहको नेतृत्वमा रहने सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई बढीभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने रणनीति लिएको बुझिएको छ ।

ब्याजदर सस्तो हुनु मात्र ठूलो कुरा होइन त्यसको उचित परिचालन र लगानीकर्तामा रहने मनोबल महत्त्वपूर्ण हुन्छ । अहिले लगानीकर्ताहरूमा जुन उत्साह देखिएको छ । त्यसको मुख्य कारण राजनीतिक नेतृत्वप्रतिको भरोसा हो । 

बालेन शाहले महानगरमा देखाएको ’एक्सन’ अब राष्ट्रिय स्तरमा देखिने विश्वासले गर्दा नै शेयर बजार र घरजग्गा व्यवसायमा पनि सकारात्मक प्रभाव पर्न थालेको छ ।

ब्याजदर घट्नु र देशमा दुई तिहाइको बलियो सरकार बन्नुले “समृद्ध नेपाल“ को सपना अब केवल भाषणमा मात्र सीमित नरहने प्रस्ट संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्