‘ग्लोबल मनी विक २०२६’ सुरुः पैसाको व्यवस्थापन र सदुपयोगमा ध्यान दिन गभर्नरको आह्वान
काठमाडौँ । ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२६’ आजदेखि आरम्भ भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो।
अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेाे छ।
काठमाडौँका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्मका करिब ५०० विद्यार्थी सहभागी उक्त कार्यक्रमको उद्घाटन गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरे। सो अवसरमा उनले पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूलाई शिक्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्त्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।
गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले स्वागत मन्तव्य राख्दै पैसाको आदर्शतम व्यवस्थापनबारे विद्यार्थीलाई विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्य रहेको जानकारी दिए। यस्ता कार्यक्रमले वित्तीय साक्षरता र समावेशितामा योगदान पुर्याउने उल्लेख गर्दै उनले नेपालमा वित्तीय समावेशिता सूचकाङ्क आर्थिक वर्ष २०२४/२५ मा ०.५३ पुगेको बताए।
कार्यक्रमको दोस्रो सत्रमा विभिन्न निकायका अधिकारी र विद्यार्थीबीच प्यानल छलफल भएको थियो। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उप रजिष्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ-आफ्नो कार्यक्षेत्रबारे जानकारी दिँदै विद्यार्थीका जिज्ञासाको जवाफ दिए। उक्त सत्रको सहजीकरण वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका का.मु. निर्देशक शिखा अधिकारी रेग्मीले गरेकी थिइन्।
चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत मुलुकभर विभिन्न वित्तीय चेतनामूलक कार्यक्रमहरू हुनेछन्। नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युटले अलग-अलग युवालक्षित कार्यक्रम आयोजना गर्नेछन्। साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र रेमिट्यान्स कम्पनीहरूले पनि यसमा सक्रिय सहभागिता जनाउनेछन्।
अभियानअन्तर्गत अन्तरक्रिया, प्रतियोगिता, सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रसारण र विद्यार्थीलाई वित्तीय संस्थाको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ। यसबाट विद्यार्थीमा वित्तीय साक्षरता र पहुँच विस्तार हुने अपेक्षा राखिएको छ। ‘लर्न.सेभ.अर्न.’ स्थायी नारा रहेको यो अभियान ओइसीडीको संयोजनमा सन् २०१२ देखि विश्वभर र २०१३ देखि नेपालमा मनाउन थालिएको हो। हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका यसबाट लाभान्वित भइसकेका छन्।














