अमेरिकी नागरिकता त्याग्न लाग्ने शुल्कमा ८० प्रतिशत कटौती, अब ४५० डलर भए पुग्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकी नागरिकता त्याग्न लाग्ने शुल्कमा ८० प्रतिशत कटौती, अब ४५० डलर भए पुग्ने



काठमाडाैं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकता औपचारिक रूपमा त्याग गर्न चाहने नागरिकहरूका लागि लाग्ने शुल्कमा करिब ८० प्रतिशतले कटौती गरेको छ।

नागरिकता त्याग्न चाहने अमेरिकीहरूको प्रतिनिधित्व गर्ने विभिन्न समूहहरूसँगको वर्षौँ लामो कानुनी लडाइँपछि सरकारले यो निर्णय गरेको हो।

मन्त्रालयले गत शुक्रबार ‘फेडरल रजिस्टर’मा अन्तिम नियम प्रकाशित गर्दै नागरिकता त्याग्ने शुल्कलाई २,३५० डलरबाट घटाएर ४५० डलर कायम गरेको हाे। शुक्रबारबाटै लागू भएको यो नयाँ शुल्क दर सन् २०२३ मै घटाउने बाचा गरिएको भए पनि कार्यान्वयनमा भने आएको थिएन। यो शुल्क सन् २०१० मा पहिलोपटक तोकिएको सुरुवाती दरकै बराबर हो।

अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया निकै जटिल र लामो मानिन्छ। यसका लागि आवेदकले विदेश मन्त्रालयका कन्सुलर अधिकारीसामु पटक-पटक लिखित र मौखिक रूपमा आफूले चाल्न लागेको कदमको परिणाम बुझेको कुरा पुष्टि गर्नुपर्छ। त्यसपछि मात्र उनीहरूलाई नागरिकता त्याग्ने औपचारिक शपथ लिन अनुमति दिइन्छ र मन्त्रालयले यसको अन्तिम समीक्षा गर्छ।

यसअघि सन् २०१५ मा यो शुल्क ४५० डलरबाट बढाएर २ हजार ३ सय ५० डलर पुर्‍याइएको थियो। विदेशमा बस्ने अमेरिकीहरूका लागि नयाँ कर रिपोर्टिङ नियमहरू लागू भएपछि नागरिकता त्याग्न चाहनेहरूको संख्या ह्वात्तै बढेको थियो। त्यतिबेला प्रशासनिक खर्च धान्न भन्दै शुल्क बढाइएपछि धेरै नागरिकहरू रुष्ट बनेका थिए।

शुल्कमा गरिएको यो अत्यधिक वृद्धिको फ्रान्सस्थित ‘एसोसिएसन अफ एक्सीडेन्टल अमेरिकन्स’ जस्ता समूहहरूले कडा विरोध गर्दै आएका थिए। यो संस्थाले विशेष गरी अमेरिकामा जन्मिएकै आधारमा मात्र अमेरिकी नागरिकता पाएका तर हाल विदेशमा बसोबास गरिरहेका व्यक्तिहरूको प्रतिनिधित्व गर्छ। उक्त संस्थाले नागरिकता त्याग्न कुनै पनि शुल्क लाग्न नहुने तर्क गर्दै अदालतमा मुद्दा समेत दायर गरेको थियो।

अदालतमा दिइएको जानकारी अनुसार, सन् २०२३ मा शुल्क घटाइने घोषणा भएयता मात्र कम्तीमा ८ हजार ७ सय ५५ अमेरिकीहरूले २ हजार ३ सय ५० डलरको पूर्ण शुल्क तिरेर नागरिकता त्यागिसकेका छन्। यद्यपि, विदेश मन्त्रालयले हालसम्म कुल कति नागरिकले नागरिकता त्यागे भन्ने यकिन तथ्याङ्क भने सार्वजनिक गरेको छैन।


प्रतिक्रिया दिनुहोस्