अन्ततः नेपाली कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिकताको आधारमा उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।
यसपटकको निर्वाचनमा थापाले आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौँ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका थिए। तर, सो क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंहले पराजित गरेपछि थापाले राजीनामा दिने निर्णय लिएका हुन्।
विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चुनिएका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन ठुलो दबाब र सुझाव दिएका थिए। यद्यपि, चुनावी नतिजा सार्वजनिक भए लगत्तैदेखि राजीनामाको मुडमा रहेका थापाले अन्ततः पद त्याग्ने बाटो रोजेका छन्।
थापाको यो राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे आगामी शुक्रबार बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अन्तिम निर्णय गर्नेछ।













