'स्ट्रेट अफ हर्मुज' बन्द हुँदा रूसलाई लाभै लाभ: कच्चा तेल बिक्रीबाट मात्र दैनिक १५ करोड डलर कमाउँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदा रूसलाई लाभै लाभ: कच्चा तेल बिक्रीबाट मात्र दैनिक १५ करोड डलर कमाउँदै



काठमाडौँ । मध्यपूर्वमा इरान, इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावले विश्वको तेल बजारमा हलचल ल्याएपछि रुसलाई अप्रत्याशित आर्थिक लाभ भएको छ।

इरानले विश्वको प्रमुख तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेसँगै आपूर्तिमा आएको संकटले रुसी कच्चा तेलको माग र मूल्य दुवैमा उच्च वृद्धि गराएको छ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धहरूले थलिएको मस्कोका लागि यो युद्ध एक प्रकारको ‘आर्थिक अक्सिजन’ बनेर आएको छ।

विश्व बजारमा तेलको अभावसँगै रुसको सरकारी ढुकुटीमा हुने आम्दानीमा नाटकीय सुधार देखिएको छ। ‘फाइनान्सियल टाइम्स’ को रिपोर्ट अनुसार, हालको संकटका कारण रुसले तेल बिक्रीबाट मात्रै दैनिक १५ करोड डलर (२० अर्ब बढी नेपाली रुपैयाँ) अतिरिक्त राजस्व कमाइरहेको छ।

द्वन्द्व सुरु भएको पहिलो १२ दिनमा मात्रै रुसले करिब १.९ अर्ब डलरसम्म थप कर राजस्व संकलन गरिसकेको छ। यदि तेलको मूल्य यही स्तरमा रहेमा महिनाको अन्त्यसम्म रुसी सरकारले ५ अर्ब डलरसम्म अतिरिक्त आम्दानी गर्ने देखिन्छ।

किन बढ्यो रुसी तेलको भाउ?

इरान र ओमानको बीचमा रहेको ‘स्ट्रेट अफ हर्मुज’ विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग हो, जहाँबाट संसारको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत ओसारपसार हुन्छ।

युद्धका कारण यो मार्गबाट ट्याङ्करहरूको आवतजावत ठप्प भएपछि खाडी मुलुकहरूबाट हुने निर्यात रोकिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मार्च महिनामा विश्वभर दैनिक ८० लाख ब्यारेल तेलको अभाव हुन सक्छ, जुन इतिहासकै सबैभन्दा ठुलो अवरोध हो। यही अभावका कारण ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०० डलरको नजिक पुगेको छ, जसको सीधा फाइदा रुसलाई पुगेको छ।

यसअघि पश्चिमी देशहरूले रुसी तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य सीमा तोकेका थिए। तर, हालको संकटले यो सीमालाई पूर्ण रूपमा असफल तुल्याइदिएको छ।

अघिल्लो दुई महिनामा प्रतिब्यारेल ५२ डलरमा झरेको रुसी ‘उराल्स क्रुड’ को मूल्य अहिले बढेर ८० डलरको हाराहारीमा पुगेको छ। विश्लेषकहरूका अनुसार तेलको मूल्यमा हुने प्रत्येक १० डलरको वृद्धिले रुसी निर्यातकर्ताको राजस्वमा २.८ अर्ब डलर थप्छ, जसको ६० प्रतिशतभन्दा बढी हिस्सा (करिब १.६३ अर्ब डलर) सीधा रुसी सरकारको कर खातामा जम्मा हुन्छ।

भारत र चीनको भरपर्दो विकल्प रुस

खाडी मुलुकबाट तेल आपूर्ति रोकिएपछि एसियाका दुई ठुला अर्थतन्त्र भारत र चीनले रुसी तेलको आयात ह्वात्तै बढाएका छन्। तथ्याङ्क अनुसार इरानमाथि आक्रमण सुरु भएयता भारत र चीनको रुसी तेल आयात २२ प्रतिशतले बढेको छ।

भारतले मात्रै हाल दैनिक १५ लाख ब्यारेल रुसी तेल किनिरहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ५० प्रतिशतले बढी हो। केही कारोबारमा त रुसी तेल ब्रेन्ट क्रुडभन्दा पनि ५ डलर महँगोमा बिक्री भइरहेको पाइएको छ।

युक्रेन युद्ध र रुसी अर्थतन्त्रमा प्रभाव

यो आर्थिक लाभ रुसका लागि यस्तो समयमा प्राप्त भएको छ, जब उसको बजेट घाटा उच्च विन्दुमा पुगेको थियो। यस वर्षको सुरुमा रुसको ऊर्जा राजस्व झन्डै ५० प्रतिशतले घटेको थियो। तर, अहिलेको मूल्य वृद्धिले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो युद्धकालीन बजेट सञ्चालन गर्न र युक्रेन विरुद्धको सैन्य खर्च धान्न ठुलो राहत दिएको छ।

रुसले हाल आफ्नो ‘ओपेक प्लस’ कोटाभन्दा दैनिक ३ लाख ब्यारेल कम तेल उत्पादन गरिरहेको छ। यदि यो संकट लम्बियो भने रुसले आफ्नो उत्पादन बढाएर थप मुनाफा कमाउने बाटो पनि खुला छ।

यद्यपि, यो आर्थिक वृद्धि पूर्ण रूपमा मध्यपूर्वको तनावमा आधारित रहेकाले ‘अस्थायी’ हुनसक्ने विज्ञहरूको चेतावनी छ। यदि ‘स्ट्रेट अफ हर्मुज’ बाट तेलको प्रवाह पुनः सामान्य भयो भने तेलको मूल्य तुरुन्तै झर्न सक्छ। तर तत्कालका लागि भने मध्यपूर्वको द्वन्द्व रुसी अर्थतन्त्र र सैन्य रणनीतिका लागि वरदान सावित भएको छ।


प्रतिक्रिया दिनुहोस्