इरानको प्रत्याक्रमणले इजरायल र खाडी मुलुकमा ठूलो क्षति, सिंगो विश्व नै चपेटामा पर्ने राष्ट्रपतिको चेतावनी
काठमाडौँ । कतारको प्रमुख ग्यास केन्द्र ‘रास लाफान’ मा इरानी क्षेप्यास्त्र प्रहारबाट “व्यापक क्षति” पुगेपछि कतारले त्यहाँ कार्यरत इरानी सुरक्षा र सैन्य सहचारीहरूलाई देश छोड्न आदेश दिएको छ।
उता इरानी आक्रमणकै कारण संयुक्त अरब इमिरेट्स (यूएई) ले अबुधाबीस्थित हबसान ग्यास उद्योग बन्द गरेको छ भने साउदी अरबले पनि आफ्ना दुईवटा तेल प्रशोधन केन्द्र (रिफाइनरी) मा हमला भएको जनाएको छ। रियादले “इरानमाथि बाँकी रहेको थोरै विश्वास पनि अब पूर्ण रूपमा चकनाचूर भएको” बताएको छ।
यी घटनाक्रमहरू इजरायलले इरानको उत्तरी बन्दर अन्जालीस्थित नौसेना र दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि विकसित भएका हुन्। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यसको “अनियन्त्रित परिणाम” निस्कने र त्यसले “सिंगो विश्वलाई नै आफ्नो चपेटामा पार्न सक्ने” चेतावनी दिएका छन्।
इजरायलमाथि इरानले गरेको प्रतिशोधात्मक आक्रमणमा परी तेलअभिभ र कब्जा गरिएको वेस्ट बैंकमा चार जनाको मृत्यु भएको छ।













