फागुन महिनामा घरजग्गा कारोबार २८ प्रतिशतले घट्यो
काठमाडौं । नेपाली घरजग्गा बजारमा पछिल्लो समय उत्साहजनक व्यावसायिक वातावरण देखिन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको २०८२ फागुन महिनाको तथ्याङ्क अनुसार देशभरको घरजग्गा कारोबारमा उल्लेख्य मन्दी आएको छ ।
माघ महिनाको तुलनामा फागुनमा कारोबारको ग्राफ निकै तल झरेको विभागको पछिल्लो विवरणले देखाउँछ । मालपोत कार्यालयहरूबाट प्राप्त पछिल्लो विवरण अनुसार फागुन महिनामा देशभर कुल ३६ हजार ४ सय ७१ संख्यामा मात्रै घरजग्गाको लिखत पारित भएको छ ।
यो संख्या अघिल्लो महिना अर्थात् माघको तुलनामा २८.२५ प्रतिशतले कम हो । माघ महिनामा कुल ५० हजार ८ सय ३७ संख्यामा लिखत पारित भएको थियो । फागुनमा आएको यो गिरावटले घरजग्गा क्षेत्रमा लगानीकर्ता र आम उपभोक्ताको आकर्षण घट्दै गएको संकेत गरेको छ ।
घरजग्गा खरिद–बिक्री मात्र नभई अन्य प्रशासनिक कार्यहरूमा पनि सुस्तता देखिएको छ। विभागको तथ्याङ्क अनुसार फागुन महिनाभर देशभरका मालपोत कार्यालयहरूबाट जम्मा ३ हजार ४ सय ६ संख्यामा मात्रै जग्गा नामसारी भएको छ ।
यसैगरी, फागुन महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल १ लाख ११ हजार ४ सय ९४ वटा विभिन्न प्रशासनिक कार्यहरू सम्पन्न गरेका छन् । यसमा लिखत पारितदेखि नामसारी, रोक्का, फुकुवा र श्रेस्ता एकीकरणसम्मका कामहरू समेटिएका छन् । तथ्याङ्क अनुसार यस महिनामा १२ हजार ७ सय ४९ वटा संशोधनका कार्यहरू भएका छन् भने २ हजार ८ सय १७ वटा ’हाल साविक’ का प्रक्रियाहरू सम्पन्न भएका छन् ।
घरजग्गा बजारमा बैंकिङ तरलता र कर्जा प्रवाहको अवस्थालाई प्रतिबिम्बित गर्ने ’रोक्का’ र ’फुकुवा’ को तथ्याङ्क पनि रोचक देखिएको छ । फागुन महिनामा देशभर २८ हजार ६ सय २ वटा घरजग्गा रोक्का राखिएका छन् भने २३ हजार ९ वटा रोक्का फुकुवा भएका छन् । यसले बजारमा नयाँ कर्जा लिएर घरजग्गामा लगानी गर्नेको तुलनामा पुराना दायित्व राफसाफ गर्ने वा कारोबारबाट बाहिरिनेको संख्या पनि उल्लेख्य रहेको देखाउँछ ।
सहरी क्षेत्रको जीवनशैली मानिने अपार्टमेन्ट कारोबारमा भने फागुन महिनामा निकै न्यून चासो देखिएको छ । देशभर जम्मा २० वटा मात्र अपार्टमेन्टको लिखत पारित भएको तथ्याङ्क छ । त्यस्तै, २ सय ५४ वटा नयाँ जग्गा दर्ता भएका छन् भने १ हजार ३ सय ४९ वटा दाखिल खारेजका प्रक्रियाहरू पुरा भएका छन् ।
फागुनमा मोहीयानी हकको ७० वटा, मोही लगत कट्टा ३४० वटा, जग्गा बाँडफाँड ९६ वटा, प्रतिलिपि जारी १ हजार ८ सय ४६ वटा, गुठी सम्बन्धी कार्य गुठी तर्फ १११, गुठी अधीनस्थ तर्फ ४१ र अर्को गुठी शीर्षकमा १० वटा कार्य भएको कार्यालयले जनाएको छ ।
गैर घर/जग्गा सम्बन्धी काम २८५ वटा भएको कार्यालयले जनाएको छ । श्रेस्ता एकीकरण र आयोजनाको श्रेस्ता एकीकरणमा १ र विभिन्न आयोजनाका १७ वटा कार्यहरू सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।
कारोबार घट्नुका कारण को हो ?
विगतका वर्षहरूमा फागुन महिना घरजग्गा कारोबारका लागि तुलनात्मक रूपमा राम्रो समय मानिन्थ्यो । तर, यस वर्षको तथ्याङ्कले भने फरक चित्र प्रस्तुत गरेको छ । बजारमा देखिएको यो सुस्तताको पछाडि आर्थिक शिथिलता मात्र नभई सामाजिक र राजनीतिक अस्थिरतालाई पनि प्रमुख कारण मानिएको छ ।
घरजग्गाको मागमा आएको यो गिरावटको एउटा महत्त्वपूर्ण कडीका रूपमा भदौ महिनामा भएको ’जेन जी’ आन्दोलनलाई हेरिएको छ । विशेषगरी भदौ २३ र २४ गते भएको उक्त आन्दोलन पछि युवा पुस्ता र लगानीकर्ताहरूमा एक किसिमको अनिश्चितता पैदा भएको थियो । सामाजिक र राजनीतिक रूपमा देखिएको उक्त असन्तुष्टि र त्यसपछिको परिस्थिति व्यवस्थापनमा देखिएको अलमलले गर्दा घरजग्गा जस्तो दीर्घकालीन लगानीको क्षेत्रमा आत्मविश्वास घटेको हो ।
यसरी एकातिर आर्थिक नीतिहरूमा भएको कडाइ र अर्कोतिर सामाजिक आन्दोलनहरूका कारण सिर्जित अविश्वासले फागुनको बजारलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । आगामी महिनाहरूमा सरकारले लिने नीति र बजारमा प्रवाह हुने तरलताले नै यो क्षेत्रको भविष्य तय गर्ने निश्चित छ ।













