शेयर बजारमा 'प्रि–दिपावली' : ‘बालेन बुल’ले साताको नेप्से साढे ५६ अंकले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर बजारमा ‘प्रि–दिपावली’ : ‘बालेन बुल’ले साताको नेप्से साढे ५६ अंकले बढ्यो



काठमाडौं । नेपालको पूँजी बजारमा यस साता निकै रोचक र उत्साहजनक दृश्य देखिएको छ । लामो समयदेखि पर्खाइमा रहेको राजनीतिक स्थिरता र नयाँ नेतृत्वको चर्चाले लगानीकर्ताहरूमा एउटा छुट्टै ऊर्जा भरेको छ ।

विशेषगरी स्वतन्त्र रूपमा उदाएका र विकासप्रेमी छवि बनाएका बालेन शाह आगामी चैत १३ गते प्रधानमन्त्रीको रूपमा शपथ लिने निश्चित भएसँगै शेयर बजारमा ’प्रि–दिपावली’ को झल्को दिने गरी हरियाली छाएको छ ।

यस साताको समग्र कारोबारलाई हेर्दा नेप्से परिसूचक ५६.५९ अंकले बढेको छ । अघिल्लो हप्ताको बिहीबार २,८२०.४४ विन्दुमा बन्द भएको नेप्से, यो साताको अन्तिम कारोबार दिन बिहीबार २,८७७.०३ विन्दुमा पुगेर रोकिनुले लगानीकर्ताको मनोबल कति उच्च छ भन्ने प्रष्ट पार्छ । साताभर नेप्से औसतमा दैनिक १४.१५ अंकले सकारात्मक दिशामा अघि बढेको देखिन्छ ।

कारोबारको महाकुम्भ: ५९ अर्ब ५६ करोड

यस साता बजारले अंक मात्र बढाएको छैन, कारोबार रकममा पनि इतिहास रच्ने प्रयास गरेको छ । ४ दिनको मात्र कारोबार अवधिमा कुल ५९ अर्ब ५६ करोड २२ लाख १ हजार ६२० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

तथ्याङ्कअनुसार साताभर कुल १६ करोड २१ लाख १२ हजार ६१२ कित्ता शेयर ५ लाख २४ हजार ६४० पटक कारोबार भए । कुल १ हजार ३७७ कम्पनीहरू (दोहोरिएका सहित) कारोबारमा सामेल भएका थिए । औसत दैनिक कारोबारलाई हेर्दा दैनिक ११ अर्ब ९१ करोड २४ लाख ४० हजार ३२४ रुपैयाँको शेयर कारोबार भएको देखिन्छ, जसले बजारमा ठूलो मात्रामा तरलता भित्रिएको र लगानीकर्ताहरू शेयर थुपार्न सक्रिय रहेको संकेत गर्छ ।

नेप्सेको उच्चतम विन्दु यो साता २,८८२.८६ सम्म पुगेको थियो भने न्यूनतम २,७७७.१७ विन्दुसम्म आएको थियो । २,८७७.०३ मा आएर बन्द हुनुले बजारले २,८५० को बलियो अवरोधलाई पार गरेको देखाउँछ । यसले आगामी साता बजार ३,००० विन्दुको मनोवैज्ञानिक रेखा तर्फ लम्किने सम्भावनालाई बढाएको छ ।

कम्पनीहरूको संख्या र कारोबार कित्तामा आएको बढोत्तरीले यो वृद्धि केही सीमित कम्पनीमा मात्र नभई समग्र बजारमा फैलिएको पुष्टि गर्छ । साना तथा ठूला दुवै वर्गका लगानीकर्ताहरू अहिले बजारमा ’पर्ख र हेर’ को अवस्थाबाट बाहिर निस्केर आक्रामक खरिदमा लागेका छन् ।

दैनिक बजार उतारचढाव

आइतबार साताको पहिलो दिन नेप्से २,८२४.९० विन्दुमा रह्यो । यस दिन १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार हुँदै बजारले सकारात्मक सुरुवात गर्‍यो ।

सोमबार बजारमा केही करेक्सन देखियो । नेप्से २६.०७ अंकले घटेर २,७९८.८३ विन्दुमा झर्‍यो । यस दिन ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भयो ।

मंगलबार फेरि बजार लयमा फर्कियो । १३.५१ अंकको वृद्धिसँगै नेप्से २,८१२.३४ विन्दुमा पुग्यो । यस दिन १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँको कारोबार भयो ।

साताको अन्तिम दिन बिहीबार बजारमा ठूलो उछाल आयो । नेप्से ६४.६९ अंक (२.३० प्रतिशत) ले बढेर २,८७७.०३ विन्दुमा पुग्यो । यो वृद्धिसँगै कारोबार रकम पनि साताकै उच्च २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८७ रुपैयाँ पुग्यो ।

राजनितिक परिवर्तनले बजारमा उत्साह
शेयर बजारको यो वृद्धिलाई कतिपयले आगामी राजनीतिक नेतृत्वसँग जोडेर हेरेका छन् । निर्वाचन आयोगले हालै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम सूची बुझाइसकेको छ । प्राप्त जानकारी अनुसार, नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गतेका लागि तय गरिएको छ ।

लगानीकर्ताहरू माझ सबैभन्दा ठूलो चर्चाको विषय बालेन शाहको सम्भावित प्रधानमन्त्रीत्व बनेको छ । चैत १२ गते सांसदहरूको शपथ भए लगत्तै चैत १३ गते बालेन शाहले मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने तयारी भएको छ । विकासप्रेमी र गतिशील नेतृत्वको आगमन हुने आशले शेयर बजारमा ’सेन्टिमेन्ट’ सकारात्मक बनेको र बिहीबारको कारोबारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको विश्लेषण गरिएको छ ।

समग्रमा यो साता शेयर बजारका लागि एउटा उत्सवमय साता सावित भयो । राजनीतिक स्थिरताको सुनिश्चितता र बालेन शाह जस्तो वैकल्पिक नेतृत्वको आगमनको चर्चाले बजारमा नयाँ प्राण भरेको छ ।

५९ अर्बभन्दा बढीको कारोबार र ५६ अंकको वृद्धिले नेपाली पूँजी बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ । यदि राजनीतिक कोर्षमा कुनै आकस्मिक अवरोध आएन भने, आगामी चैत १३ को शपथपछि बजारले अझै ऐतिहासिक उचाइ चुम्ने विश्लेषण विश्लेषकहरूको छ ।


प्रतिक्रिया दिनुहोस्