प्राधिकरणले गर्यो ८ बीमा कम्पनीलाई कारबाहीको डन्डा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्राधिकरणले गर्यो ८ बीमा कम्पनीलाई कारबाहीको डन्डा



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को बर्खिलाप गर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याएको छ । ऐनले निर्दिष्ट गरेका कानुनी प्रावधान र प्राधिकरणको निर्देशन पालना नगरेका कारण ती कम्पनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलका अनुसार कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन् ।

प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा आवश्यक निर्देशन दिने प्रकृतिको कारबाही गरेको छ । त्यसैगरी, नियम विपरीत कार्य गरेको पाइएकाले एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने तीन महिनाको अवधिका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

यी दुई बाहेकका अन्य ६ वटा बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्था बमोजिम जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ । बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशनको उल्लंघन गर्ने निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

कानुनी प्रावधान अनुसार पहिलोपटक निर्देशन उल्लंघन गर्नेका लागि २ लाख रुपैयाँ, दोस्रो पटक सोही प्रकृतिको गल्ती दोहोर्याएमा २५ लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटक ५० लाख रुपैयाँ जरिवाना हुने उल्लेख छ । सोही बमोजिम पहिलो पटकको गल्तीका लागि प्राधिकरणले न्यूनतम जरिवाना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्