कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु, चार अझै बेपत्ता
काठमाडौँ । कोलम्बियामा सोमबार उडान भर्ने क्रममा एक सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। ल्याटिन अमेरकाको यो देशको समय नेपालभन्दा १० घण्टा ४५ मिनेट ढिला हुने भएकाले सोमबार भनिए पनि नेपाली समयअनुसार आज मंगलबार विहान यो दुर्घटना भएको हो ।
उद्धारकर्मीहरूले दर्जनौँ जीवित व्यक्तिहरूलाई नजिकैका अस्पतालहरूमा पुर्याएका छन् भने अझै बेपत्ता रहेका चार जनाको खोजी भइरहेको एक उच्च अधिकारीले जानकारी दिएका छन्।
राष्ट्रिय सशस्त्र बलका प्रमुख ह्युगो अलेहान्ड्रो लोपेजका अनुसार, लकहिड मार्टिनद्वारा निर्मित हर्कुलिस सी-१३० यात्रुवहाक विमानमा १२८ जना सवार थिए। जसमा वायुसेनाका ११ सदस्य, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारीहरू थिए।
अधिकारीहरूले यसअघि सार्वजनिक गरेको मृतकको संख्याभन्दा यो संख्या झन्डै दोब्बर हो। दुर्घटनास्थलमा खोजी र शव संकलन कार्य जारी छ।
रक्षा मन्त्री पेड्रो सान्चेजले एक्समार्फत जानकारी दिए अनुसार, पेरुको सीमानामा रहेको पुएर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा यो दुर्घटना भएको हो।
दमकलकर्मी एडुआर्डो सान जुआन कालेजासले ‘काराकोल’लाई बताए अनुसार, उडान भर्ने क्रममा रनवेको अन्त्यतिर विमान ठोक्किएको विश्वास गरिएको छ। विमान खस्दै गर्दा त्यसको एउटा पखेटा रुखमा अल्झिएको थियो। विमान भुइँमा बज्रिएपछि आगलागी भएको र विमानमा रहेका केही विस्फोटक उपकरणहरू विष्फोट भएको उनले थपे।
दुर्गम क्षेत्रका बासिन्दाहरूले सबैभन्दा पहिले जीवितहरूको उद्धार गरेका थिए। भिडियोहरूमा स्थानीय पुरुषहरूले घाइते सैनिकहरूलाई आफ्नो मोटरसाइकलमा राखेर धुलाम्मे सडकमा कुदाइरहेको देख्न सकिन्छ। पछि सैन्य सवारी साधनहरू पुगे पनि दुर्घटनास्थलमा पुग्न कठिन भएकाले उद्धार कार्यमा बाधा पुगेको अधिकारीहरूले बताएका छन्।
लोपेजका अनुसार ५७ जना जीवित व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये ३० जनाको अवस्था सैन्य क्लिनिकमा सामान्य रहेको छ।
सैन्य आधुनिकीकरणको चर्चा
आफ्नो कार्यकालको अन्तिम चरणमा रहेका राष्ट्रपति गुस्ताभो पेट्रोले सोमबार सैन्य आधुनिकीकरणको योजनामा ढिलाइ भएको भन्दै प्रशासनिक बाधा-अड्चनहरूको आलोचना गरे।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म अब कुनै ढिलाइ सहने छैन; यहाँ हाम्रा युवाहरूको जीवन दाउमा छ। यदि निजामती वा सैन्य प्रशासनिक अधिकारीहरू यो चुनौती सामना गर्न सक्षम छैनन् भने उनीहरूलाई पदबाट हटाउनुपर्छ।”
कोलम्बियामा मे ३१ मा हुने राष्ट्रपति निर्वाचनका धेरै उम्मेदवारहरूले शोक व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेका छन्। लकहिड मार्टिनका प्रवक्ताले दुर्घटनाको अनुसन्धानमा कोलम्बियालाई सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन्।
हर्कुलिस सी-१३० विमानहरू पहिलो पटक १९५० को दशकमा निर्माण गरिएका थिए भने कोलम्बियाले १९६० को दशकको अन्त्यमा यसका पहिलो मोडलहरू प्राप्त गरेको थियो। पछिल्लो समय अमेरिकाबाट प्रयोग गरिएका वा बढी भएका सैन्य उपकरण हस्तान्तरण गर्ने प्रावधान अन्तर्गत पुराना विमानहरूलाई नयाँ मोडलसँग आधुनिकरण गरिएको थियो।
कोलम्बियामा ६ दशक लामो आन्तरिक द्वन्द्वका क्रममा सेना ओसारपसार गर्न यी विमानहरू धेरै प्रयोग गरिन्छन्। उक्त द्वन्द्वमा ४ लाख ५० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। सोमबार दुर्घटना भएको विमानको ‘टेल नम्बर’ पछिल्ला वर्षहरूमा अमेरिकाले कोलम्बियालाई हस्तान्तरण गरेका तीनवटा विमानमध्ये पहिलो विमानसँग मेल खान्छ।
फेब्रुअरीको अन्त्यमा बोलिभियाली वायुसेनाको अर्को हर्कुलिस सी-१३० विमान पनि एल आल्टोको घना बस्ती भएको सहरमा दुर्घटनाग्रस्त भएको थियो। उक्त घटनामा २० भन्दा बढीको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।













