इरानद्वारा इजरायलमाथि मिसाइल वर्षा, ट्रम्पको दाबीलाई तेहरानले भन्यो ‘फेक न्युज’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फलदायी वार्ता भइरहेको दाबी गरेको केही समयमै इरानले इजरायलमाथि दर्जनौँ मिसाइल प्रहार गरेपछि मध्यपूर्वको संकट थप गहिरिएको छ। तेहरानले वार्ताको खबरलाई ‘प्रोगागान्डा’को संज्ञा दिँदै अस्वीकार गरेपछि विश्वभर तेलको मूल्य र सुरक्षा चासो ह्वात्तै बढेको छ।
इजरायली आकाशमा मिसाइल प्रतिरोधी प्रणाली सक्रिय भई विष्फोटका आवाजहरू गुन्जिरहँदा इरान र अमेरिकाबीचको कुटनीतिक दाबीहरूले विश्वलाई अन्योलमा पारेका छन्।
इजरायली सेनाका अनुसार इरानले इजरायलमाथि मिसाइलका कैयौँ चरणका आक्रमणहरू सुरु गरेको छ, जसका कारण तेलअभिभ लगायत इजरायलका विभिन्न भागहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए र मिसाइल प्रतिरोधी प्रणालीले तिनलाई आकाशमै नष्ट गर्दा विष्फोटका आवाजहरू सुनिएका थिए।
उत्तरी इजरायलमा मिसाइलका अवशेषहरू खस्दा केही भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यो आक्रमण यस्तो समयमा भएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूसँगको “फलदायी वार्ता” का कारण इरानको पावर ग्रिडमा बमबारी गर्ने आफ्नो योजना स्थगित गरेको घोषणा गरेका थिए।
दाबी र खण्डनको जुहारी
राष्ट्रपति ट्रम्पले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेख्दै अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुताको “पूर्ण र समग्र समाधान” का बारेमा “धेरै राम्रो र फलदायी” कुराकानी भएको दाबी गरेका थिए । त्यसकै आधारमा इरानको ऊर्जा संयन्त्रमा हमला गर्ने योजना पाँच दिनका लागि पछाडि सारिएको उनले बताएका थिए।
तर, इरानको शक्तिशाली संसदका सभामुख मोहम्मद बाकेर कलिबाफले ट्रम्पको यो दाबीलाई सिधै खारेज गरिदिए। उनले अमेरिकासँग कुनै वार्ता नभएको प्रस्ट पार्दै यसलाई वित्तीय र तेल बजारलाई आफ्नो स्वार्थ अनुकूल चलाउन रचिएको ‘फेक न्युज’ को संज्ञा दिए।
इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पका शब्दहरूलाई पुरानो शैलीको “मनोवैज्ञानिक अपरेसन” भन्दै यसले आफ्नो लडाइँको रणनीतिमा कुनै प्रभाव नपार्ने बताएको छ।
विश्व बजार र कुटनीतिक प्रयास
तेहरान र वासिङ्टनबाट आएका यी विरोधाभासी सन्देशहरूले विश्व ऊर्जा बजारलाई पुनः अस्थिर बनाएको छ। हर्मोज जलसन्धि बन्द हुने डर र बढ्दो युद्धको त्रासका कारण कच्चा तेलको मूल्यमा चार प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
अमेरिकी पक्षले आफ्ना विशेष दूत र सल्लाहकारहरूले इरानी पक्षसँग छलफल गरिरहेको दाबी गरिरहँदा तेहरानले भने त्यसलाई अस्वीकार गरिरहेको छ।
यद्यपि, केही क्षेत्रीय स्रोतहरूका अनुसार दुई राष्ट्रबीच प्रत्यक्ष वार्ता नभए पनि विभिन्न छिमेकी मुलुकहरूले सन्देश आदानप्रदानमा मध्यस्थता गरिरहेका छन्।
फेब्रुअरीको अन्त्यदेखि सुरु भएको यो तनावले अहिलेसम्म दुई हजारभन्दा बढीको ज्यान लिइसकेको छ र यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दीर्घकालीन संकट निम्त्याउने जोखिम बढाएको छ।













